logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:00 AM

  • उद्योगी र बैंकर पक्राउप्रति महासंघको कडा आपत्तिः ‘व्यावसायिक क्षेत्रमा त्रास फैलियो’

    उद्योगी र बैंकर पक्राउप्रति महासंघको कडा आपत्तिः ‘व्यावसायिक क्षेत्रमा त्रास फैलियो’


    पर्यटन नेपाल

    बिहिबार, ३१ बैशाख २०८३


    काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघले पछिल्ला केही दिनयता आर्थिक मुद्दाको अनुसन्धानका नाममा उद्योगी, व्यवसायी, निर्माण व्यवसायी र बैंकरहरूलाई पक्राउ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। महासंघले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिले समग्र व्यावसायिक वातावरणमा त्रास सिर्जना गरेको उल्लेख गरेको छ।

    निजी र बैंकिङ क्षेत्रका नेतृत्वदायी व्यक्तिहरूमाथि फौजदारी कसुरको शैलीमा धरपकड गरिनुले लगानीकर्तामा नकारात्मक सन्देश गएको महासंघको ठहर छ। विशेषगरी बैंकका कार्यकारी अधिकृतहरूलाई कर्जा असुली प्रक्रियाको विषयमा पक्राउ गरिनुले बैंकिङ क्षेत्रकै साखमा असर पुग्न सक्ने चेतावनी महासंघले दिएको छ।

    ‘यस्ता घटनाले बैंकिङ क्षेत्रको निर्णय क्षमतामा ह्रास ल्याउँछ, जसले गर्दा कर्जा प्रवाह संकुचन भई समग्र अर्थतन्त्र नै संकटमा पर्न सक्छ,’ विज्ञप्तिमा भनिएको छ।

    महासंघले प्रारम्भिक अनुसन्धान नसकिँदै पक्राउ गर्ने र मिडिया ट्रायल गरेर व्यक्तिको मानप्रतिष्ठामा आँच पुऱ्याउने कार्य तत्काल बन्द गर्नुपर्ने, देवानी दायित्व सिर्जना हुने प्रकृतिका मुद्दाहरूमा त्यसै अनुरूप छानबिन र अभियोजन गरिनुपर्ने, कसुर प्रमाणित नभएसम्म कसुरदार मान्न नहुने र सम्मानपूर्वक बाँच्न पाउने संवैधानिक हकको रक्षा हुनुपर्ने माग पनि अघि सारेको छ।

    विगत चार वर्षदेखि शिथिल रहेको अर्थतन्त्र नयाँ सरकार गठनपछि चलायमान हुने अपेक्षा गरिरहेका बेला यस्ता धरपकडले लगानी विस्तारमा अवरोध पुऱ्याएको महासंघको भनाइ छ। महासंघले सरकारलाई ुव्यवसायीमैत्री नीति र व्यवहारु मार्फत व्यावसायिक आत्मविश्वास बढाउने वातावरण निर्माण गर्न अपिल गरेको छ।

    सरकारले निजी क्षेत्रलाई हतोत्साहित पार्ने काम गरेमा त्यसको प्रत्यक्ष असर मुलुकको राजस्व र रोजगारीमा पर्ने भन्दै महासंघले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend