logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   05:59 AM

  • कर्णालीको पर्यटनलाई विश्व बजारमा पुर्‍याउन सुर्खेतमा कर्णाली पर्यटन सम्मेलन, भारतीय लगानीकर्ता पनि सहभागी हुने

    कर्णालीको पर्यटनलाई विश्व बजारमा पुर्‍याउन सुर्खेतमा कर्णाली पर्यटन सम्मेलन, भारतीय लगानीकर्ता पनि सहभागी हुने


    पर्यटन नेपाल

    बिहिबार, ३१ बैशाख २०८३


    सुर्खेत। प्राकृतिक र सांस्कृतिक रूपमा सम्पन्न भएर पनि ओझेलमा परेको कर्णालीको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्न सुर्खेतमा ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ आयोजना हुने भएको छ।

    नेपाल र भारतका पर्यटन व्यवसायी एवं लगानीकर्तालाई एकै ठाउँमा ल्याएर कर्णालीमा लगानीको वातावरण बनाउने उद्देश्यले यो सम्मेलन हुन लागेको हो।

    नेपाल पर्यटन बोर्ड, वीरेन्द्रनगर नगरपालिका र होटल व्यवसायी महासंघ कर्णाली प्रदेशले संयुक्त रूपमा आगामी जेठ ९ देखि ११ गतेसम्म यस ऐतिहासिक सम्मेलनको आयोजना गर्दैछन्।

    यस सम्मेलनको सबैभन्दा बलियो पक्ष भनेको छिमेकी मुलुक भारतसँगको क्रस बोर्डर कनेक्टिभिटी र पर्यटन साझेदारी हो। सम्मेलनमा भारतका तीन राज्यहरू उत्तर प्रदेश, उत्तराखण्ड र दिल्लीका पर्यटन व्यवसायी, लगानीकर्ता, ट्राभल एजेन्सी, टुर अपरेटर र पर्यटन विज्ञहरूको सक्रिय सहभागिता रहने सम्मेलनका संयोजक तर्कबहादुर शाहीले जानकारी दिए।

    उनका अनुसार सम्मेलन नेपाल र भारतका व्यवसायीहरूबीच प्रत्यक्ष व्यावसायिक सम्झौता र सहकार्यका लागि बिजनेस टु बिजनेस छलफल हुनेछ भने पर्यटन विज्ञहरूसँग कर्णालीको दिगो पर्यटन विकासका चुनौती र सम्भावनाबारे प्राविधिक विमर्श हुनेछ।

    त्यस्तै, विदेशी पाहुनाहरूलाई कर्णालीका पर्यटकीय स्थल र होटल पूर्वाधारको प्रत्यक्ष अवलोकन गराइने छ भने कर्णालीको रैथाने कला र संस्कृतिलाई विश्व बजारमा चिनाउने प्रस्तुतिहरू हुनेछ। ‘हामीसँग सम्पत्ति छ तर बजारसम्म पुग्न सकेका थिएनौँ,’ संयोजक शाहीले भने, ‘यो सम्मेलनले कर्णालीलाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग सिधा जोड्नेछ।’

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend