logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   05:59 AM

  • मध्यपूर्व संकट र बढ्दो महँगीको असरः बर्दिया निकुञ्जमा पर्यटकको संख्या घट्यो

    मध्यपूर्व संकट र बढ्दो महँगीको असरः बर्दिया निकुञ्जमा पर्यटकको संख्या घट्यो


    पर्यटन नेपाल

    सोमबार, ४ जेष्ठ २०८३


    बर्दिया। बाघ, गैँडा र हात्तीजस्ता दुर्लभ वन्यजन्तुको सहजै अवलोकन गर्न पाइने भएकाले बर्दिया राष्ट्रिय निकुञ्ज आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमा पर्दै आएको छ। तर, मध्यपूर्व युद्ध, राजनीतिक उथलपुथल, हवाई भाडामा वृद्धि र सीमानाकाका झन्झटका कारण यस वर्ष निकुञ्ज घुम्न आउने पर्यटकको संख्यामा कमी आएको छ।

    निकुञ्ज प्रशासनका अनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को चैत मसान्तसम्ममा कुल १९ हजार ११५ जना पर्यटकले निकुञ्जमा जंगल सफारी र वाक गरेका छन्। यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम हो।

    दुई आर्थिक वर्षको तुलनात्मक तथ्यांक (चैत मसान्तसम्म) हेर्दा यसपटक पर्यटक घटेका छन्। आव ०८१/०८२ मा भने २२ हजार ४९१ पर्यटक आएका थिए।

    निकुञ्जका प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार गत वर्षको तुलनामा यस वर्ष स्वदेशी तथा विदेशी दुवैतर्फका पर्यटकको संख्यामा गिरावट आएको छ।

    पर्यटन व्यवसायी तथा पथप्रदर्शकका अनुसार पर्यटन क्षेत्रमा मन्दी आउनुमा आन्तरिक भन्दा पनि बाह्य र नीतिगत कारण बढी जिम्मेवार छन्।

    वाइल्ड ट्रेयाल्स नेपालका सञ्चालक रामराज ढकालका अनुसार इरान युद्ध र विश्वभर भइरहेका विभिन्न आन्दोलनका कारण पर्यटक सुरक्षित महसुस गर्न सकेका छैनन्। भदौ महिनामा भएको जेनजी आन्दोलन र राजनीतिक उथलपुथलले पनि बुकिङमा असर पारेको छ।

    दुबई र कतार एयरलाइन्सको सेवामा आएको अवरोध तथा अन्तर्राष्ट्रिय र आन्तरिक हवाई टिकटको मूल्य वृद्धिले पर्यटकलाई निरुत्साहित गरेको छ। विदेशी पर्यटकका लागि हवाईजहाजमा लिइने बढी शुल्कले पनि नकारात्मक असर पारेको व्यवसायीहरूको भनाइ छ।

    त्यस्तै, प्रकृति पथप्रदर्शक राजन चौधरीका अनुसार नेपाल आउने धेरैजसो विदेशी पर्यटक दिल्ली हुँदै ट्याक्सीमार्फत नेपाल भारत सीमा पार गरेर बर्दिया आउने गर्छन्। तर, सिमानामा व्यहोर्नुपर्ने प्रशासनिक र व्यवहारिक झन्झटका कारण पर्यटकहरूले सास्ती पाइरहेका छन्।यसबाहेक महँगी र असुरक्षाको त्रास नै पर्यटक आगमन घट्नुको प्रमुख कारण हो।

    घुम्ने आउने पर्यटकमा केही गिरावट आए पनि पर्या(पर्यटनका लागि बर्दिया राष्ट्रिय निकुञ्ज उत्कृष्ट गन्तव्य मानिन्छ। हाल यस निकुञ्जमा १२५ वटा पाटेबाघ, १२० वटा हात्ती र ३८ वटा गैँडा छन्। निकुञ्जको ‘कोर एरिया’मा जंगल वाक वा सफारी गर्दा बाघ, गैँडा, हात्तीका साथै अजिंगर, चित्तल, मृग, बाह्रसिङ्गे र रतुवा सजिलै देख्न पाइने हुनाले पर्यटक आकर्षित हुने गर्छन्।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend