काठमाडौं। चीनको व्यापारिक सहर ग्वाङ्झाउमा आयोजित प्रतिष्ठित ग्वाङ्झाउ अन्तर्राष्ट्रिय ट्राभल फेयर (जीआईटीएफ) २०२६ मा नेपालले ‘मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेसन’ (सबैभन्दा मनमोहक पर्यटन गन्तव्य) को प्रतिष्ठित सम्मान प्राप्त गरेको छ।
नेपालको अद्वितीय प्राकृतिक सौन्दर्य, गहिरो आध्यात्मिकता, समृद्ध सांस्कृतिक विविधता तथा रोमाञ्चक साहसिक पर्यटनको समिश्रणलाई उच्च मूल्याङ्कन गर्दै अन्तर्राष्ट्रिय मञ्चमा यो अवार्ड प्रदान गरिएको हो ।
नेपाल पर्यटन बोर्डको नेतृत्वमा मे २१ देखि २३ सम्म सञ्चालित तीनदिने यस मेलामा नेपालले चिनियाँ र अन्तर्राष्ट्रिय बजारमा आफ्नो पर्यटकीय ब्रान्डिङलाई आक्रामक रूपमा प्रस्तुत गरेको थियो।
नेपालले यस पटक परम्परागत पर्वतारोहण र ट्रेकिङभन्दा माथि उठेर चिनियाँ पर्यटकहरूलाई आकर्षित गर्न नयाँ रणनीति अपनाएको छ । मेलामा नेपालले ‘नेपालः अ लाइफटाइम एक्सपेरियन्स’ को मूल नारासहित विशेषगरी वेलनेस, धार्मिक, सांस्कृतिक र लक्जरी पर्यटनका विविध आयामहरूलाई उजागर गर्यो।
मुख्य आकर्षण सिङ्गिङ बाउलस् तनावमुक्त र आध्यात्मिक पर्यटनतर्फ आकर्षित भइरहेका चिनियाँ नागरिकहरूलाई लक्षित गर्दै नेपाली स्टलमा गरिएको ‘नेपाली सिङ्गिङ बाउल’ को प्रत्यक्ष प्रदर्शन र ध्वनि चिकित्साले आगन्तुकहरूको ध्यान खिचेको थियो।
मेलामा आगन्तुकहरूलाई आकर्षित गर्न ‘स्पिन एन्ड विन’ लक्की ड्र जस्ता सिर्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिएका थिए।
ग्रेटर बे एरियाः उच्च खर्च गर्ने पर्यटकको स्रोत
चीनको ग्वाङ्झाउ, हङकङ र सेन्जेन समेटिएको ग्रेटर बे एरिया आर्थिक रूपमा अत्यन्तै बलियो क्षेत्र मानिन्छ। नेपाल पर्यटन बोर्डका अनुसार यस क्षेत्रका उच्च वर्ग र मध्यम वर्गका चिनियाँ पर्यटकहरू भ्रमणका लागि बढी खर्च गर्न र लामो समय बस्न रुचाउँछन् ।
यही रणनीतिक महत्त्वलाई बुझेर मेला सुरु हुनुअघि नै (मे २० मा) ग्वाङ्झाउस्थित नेपाली महावाणिज्य दूतावाससँगको सहकार्यमा चीनको प्रविधि हब सेन्जेनमा विशेष पर्यटन प्रवर्द्धन तथा बीटुबी नेटवर्किङ कार्यक्रम समेत आयोजना गरिएको थियो, जसले चिनियाँ र नेपाली टुर अपरेटरहरूबीच व्यापारिक सम्बन्ध स्थापित गर्न ठूलो भूमिका खेल्यो।
नेपालका तर्फबाट मेलामा सहभागी ८ वटा स्थापित पर्यटन व्यवसायी कम्पनीहरूले ट्रेकिङ, सांस्कृतिक भ्रमण र नेपालका डिलक्स होटल तथा आतिथ्य सेवासम्बन्धी प्याकेजहरू चिनियाँ बजारमा सिधै बिक्रीका लागि प्रस्तुत गरेका थिए।
मेलाको दोस्रो दिन नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक विमल कँडेलले नेपालको पर्यटन प्रवर्द्धन रणनीतिबारे ‘कन्ट्री प्रेजेन्टेसन’ दिँदै नेपाल चिनियाँ पर्यटकका लागि पूर्ण रूपमा सुरक्षित र विशिष्ट अनुभव दिने गन्तव्य भएको प्रस्ट पारे। प्यानल छलफलमा बोर्डका वरिष्ठ अधिकृत प्रदीप बस्नेतसहितको टोलीले चिनियाँ बजारमा नेपाली पर्यटनको पहुँच विस्तारबारे बहस गरेको थियो।
सिधा उडानले पर्यटकीय आगमन बढाउने विश्वास
कुनै पनि पर्यटकीय गन्तव्यको सफलताका लागि हवाई पहुँच अनिवार्य सर्त मानिन्छ। हाल नेपाल वायुसेवा निगम र चाइना साउदर्न एयरलाइन्सले काठमाडौं–ग्वाङ्झाउ सिधा उडान सञ्चालन गरिरहेका छन्।
यस मेलामा नेपालले पाएको अन्तर्राष्ट्रिय अवार्ड र पहिचानले सीधा उडानमार्फत नेपाल आउने चिनियाँ पर्यटकहरूको सङ्ख्यामा आगामी दिनमा उल्लेख्य वृद्धि हुने र नेपालको पर्यटन अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने पर्यटन बोर्डको विश्वास छ।