logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:59 AM

  • पर्यटक आगमनमा १९ प्रतिशत वृद्धि, मे महिनामै १ लाख २ हजार विदेशी नेपाल भित्रिए

    पर्यटक आगमनमा १९ प्रतिशत वृद्धि, मे महिनामै १ लाख २ हजार विदेशी नेपाल भित्रिए


    पर्यटन नेपाल

    बुधबार, २० जेष्ठ २०८३


    काठमाडौं। नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार देखिएको छ। अध्यागमन विभागको प्रारम्भिक तथ्यांकका आधारमा नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२६ को मे महिनामा मात्रै १ लाख २ हजार ६२६ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्।

    यो संख्या गत वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशतले बढी हो। सन् २०२५ को मे महिनामा ८६ हजार २१६ जना विदेशी पर्यटक नेपाल आएका थिए। त्यस्तै, कोभिड–१९ महामारीअघि पर्यटन क्षेत्र सामान्य अवस्थामा रहेको सन् २०१९ को मे महिनाको तुलनामा पर्यटक आगमन ३१ प्रतिशतले बढेको छ। सन् २०१९ को मे महिनामा ७८ हजार ३२९ जना पर्यटक नेपाल आएका थिए।

    पर्यटन बोर्डका अनुसार हालको आगमन दरले नेपालको पर्यटन क्षेत्र महामारीपूर्व अवस्थाभन्दा माथि पुगिसकेको संकेत गरेको छ। तथ्यांकअनुसार पर्यटन क्षेत्रको रिकभरी दर १३१ प्रतिशत पुगेको छ।

    भारत पहिलो स्रोत बजार
    मे महिनामा नेपाल आउने विदेशी पर्यटकमध्ये सबैभन्दा बढी संख्या छिमेकी भारत बाट आएको छ। भारतबाट ४० हजार ७८२ जना पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको करिब ४० प्रतिशत हो।

    भारतपछि चीन बाट ११ हजार ५१४, संयुक्त राज्य अमेरिका बाट ९ हजार १, बंगलादेश बाट ५ हजार २९८ तथा बेलायत बाट ३ हजार ३७५ जना पर्यटक नेपाल आएका छन्।

    त्यसैगरी अष्ट्रेलिया, मलेसिया, जापान, रूस र जर्मनी शीर्ष १० स्रोत बजारभित्र परेका छन्।

    दक्षिण एसियाली बजारको बलियो योगदान
    क्षेत्रगत रूपमा हेर्दा दक्षिण एसियाली राष्ट्रहरूको संगठन (सार्क) सदस्य मुलुकहरूबाट सबैभन्दा धेरै पर्यटक नेपाल आएका छन्। मे महिनामा सार्क क्षेत्रबाट ४८ हजार ४६१ जना पर्यटक भित्रिएका छन्, जसले कुल बजारको ४७.२ प्रतिशत हिस्सा ओगटेको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा ४१.१ प्रतिशतले बढी हो।

    अन्य एसियाली मुलुकहरूबाट २० हजार ४६२ जना पर्यटक आएका छन्, जुन कुल आगमनको १९.९ प्रतिशत हो। युरोपबाट १३ हजार ४४०, अमेरिकी महादेशबाट १० हजार ६१८ तथा ओशिनिया क्षेत्रबाट ३ हजार १८८ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्।

    त्यसैगरी मध्यपूर्वबाट १ हजार ५११ जना तथा अफ्रिकी मुलुकहरूबाट ३३४ जना पर्यटक नेपाल आएका छन्। अफ्रिकी क्षेत्रबाट आउने पर्यटकको संख्या सबैभन्दा न्यून रहेको प्रतिवेदनमा उल्लेख छ।

    पर्यटन क्षेत्रमा थप आशा
    अमेरिकी र अफ्रिकी बजारबाट पर्यटक आगमनमा सामान्य गिरावट देखिए पनि दक्षिण एसिया र अन्य एसियाली बजारमा आएको उल्लेखनीय वृद्धिले नेपालको पर्यटन उद्योगलाई नयाँ ऊर्जा दिएको छ। विशेषगरी भारत र चीनबाट बढ्दो आगमनले होटल, ट्राभल, हवाई सेवा तथा पर्यटनसँग सम्बन्धित व्यवसायमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

    पर्यटन क्षेत्रका जानकारहरूका अनुसार महामारीपछिको पुनरुत्थान अब केवल रिकभरीमा सीमित नरही विस्तारको चरणमा प्रवेश गरेको संकेत देखिएको छ। मे महिनाको तथ्याङ्कले नेपालको पर्यटन उद्योग पुरानो लयमा फर्किनुका साथै नयाँ कीर्तिमानतर्फ उन्मुख रहेको देखाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend