logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   01:39 PM

  • पोखरामा दोस्रो अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना हुँदै

    पोखरामा दोस्रो अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना हुँदै


    पर्यटन नेपाल

    मंगलबार, ५ मंसिर २०८०


    काठमाडौँ । नेपाल पर्यटन बोर्ड, नेपालका लागि चिनियाँ राजदूतावास काठमाडौँ, पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्ट्स एसोसिएसन र होटल एसोसिएसन पोखरा सहआयोजना यही मंसिर ९ गते पोखरामा मैत्रीपूर्ण दौड प्रतियोगिता (अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री रेस) आयोजना हुने भएको छ ।

    यो प्रतियोगिताले नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको आज नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    नेपाल र चीन मैत्रीपूर्ण सम्बन्ध विस्तार तथा नेपालको पर्यटन प्रर्वद्धनका लागि आयोजना गरिने प्रतियिोगितामा नेपाली १० टिम र नेपाली चीनका १० टिम सहभागी हुने नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनन्जय रेग्मीले जानकारी दिए ।

    प्रतियोगितामा सहभागी हुन हिमालयन एयरलायन्स चार्टर उडान गरी खेलाडी, अफिसियल र अन्य पाहुना गरी एक सय चार जना चिनियाँ पोखरा आउने र उनीहरु दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी चीन सरकारकै सहयोगमा चार्टर उडानमार्फत् पोखरा आउन लागेको कार्यकारी प्रमुख डा। रेग्मीले बताए ।

    यसअघि सन् २०१९ मा पोखरा अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री प्रतियोगिता आयोजना गरिएकोमा कोभिड–१९ महामारीका कारण त्यसपछि दौड प्रतियोगिता हुन सकेको थिएन ।

    यस्तै चिनीयाँ दुतावासका डेपुटी चिफ अफ मिसन वान सिनले यो कार्यक्रमले नेपाल र चीन सरकार एवं जनस्तरमा रही आएको लामो मैत्रीपूर्ण सम्बन्धलाई थप सुमधुर बनाउन तथा नेपालमा खेल पर्यटन प्रर्वछनमा सहयोग पुग्ने अपेक्षा गरेको बताए ।

    प्रतियोगितामा धावकहरूले दौड, साइक्लिङ र फेवातालमा बोटिङ गरी ४० किलोमिटर पार गर्नुपर्नेछ । फेवाताल किनार बाराहीघाटबाट सुरू हुने प्रतियोगिता डेभिड फल हुँदै विश्व शान्ति स्तुप पुगेर फेवातालमा बोटिङ गरी फेरि बाराहीघाट आएर अन्त्य हुने छ ।

    नेपाल र चीनका खेलाडीबीच हुने मैत्रीपूर्ण प्रतिस्पर्धाका साथै व्यक्तिगत दौड प्रतियोगिता ३८ किलोमिटर, आम नागरिकका लागि पब्लिक इभेन्ट ५ किलोमिटर र विद्यार्थीका लागि ५ किलोमिटर दौड प्रतियोगिता पनि राखिएको छ ।

    नेपाली र चिनियाँ धावकबीच हुने प्रतियोगिताका प्रथम हुने टिमले ३ लाख ६० हजार रुपैयाँ, दोस्रोले २ लाख ८८ हजार रुपैयाँ, तेस्रोले २ लाख १६ हजार रुपैयाँ, चौथो टिमले १ लाख ४४ हजार रुपैयाँ र पाँचौं हुने टिमले ९० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

    व्यक्तिगत स्पर्धामा प्रथमले १ लाख ४४ हजार रुपैयाँ, दोस्रोले १ लाख ८ हजार रुपैयाँ, तेस्रोले ५४ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। व्यक्तिगत स्पर्धामा चौथोदेखि १० औं तहमा आइपुग्ने धावकलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

    यस्तै, विद्यार्थीको प्रतिस्पर्धामा पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । कोभिड–१९ महामारीका कारण त्यसपछि दौड प्रतियोगिता हुन सकेको थिएन । प्रतियोगिता सफल बनाउन विभिन्न २२ वटा उपसमिति गठन गरिएको छ ।

    यसअघि असार ८ र ९ गते पोखरामा आयोजित चिनियाँ ड्रागन बोट रेसमा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर गरी पोखरा आएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend