logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:27 AM

  • पर्यटन र अर्थतन्त्र चलायमान बनाउन भरतपुर महानगरमा भ्रमण वर्ष सुरु

    पर्यटन र अर्थतन्त्र चलायमान बनाउन भरतपुर महानगरमा भ्रमण वर्ष सुरु


    पर्यटन नेपाल

    बुधबार, ६ मंसिर २०८०


    काठमाडौँ । भरतपुर भ्रमण वर्ष २०२४ ले देशमा पर्यटकीय माहोल सृजना गर्ने सरोकारवालाले बताएका छन् ।

    भरतपुर भ्रमण वर्षको प्रचारप्रसारका लागि काठमाडौँस्थित नेपाल पर्यटन बोर्डमा गरिएको कार्यक्रममा पर्यटन सम्बद्ध व्यक्तिहरूले पर्यटन र समग्र अर्थतन्त्रको चलायमान बनाउन भरतपुर भ्रमण वर्षको भूमिका हुने बताएका हुन् ।

    संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालि ठकुरीले पर्यटनको चलायमान बनाउन भरतपुरले सुरु गरेको अभियानमा पर्यटन मन्त्रालयले पूर्ण रूपले साथ दिने बताइन् । अर्थतन्त्र लयमा ल्याउन पनि पर्यटकीय क्षेत्रलाई चलायमान बनाउनुपर्ने उल्लेख सरकारले आर्थिक र नैतिक हिसाबले साथ दिने बताइन् ।

    नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले भरतपुर भ्रमण वर्षकै अवसरमा मेघौलीमा हात्तपोलो सुरु गर्न पहल गर्ने बताए । डा. रेग्मीले अन्तर्राष्ट्रिय जङ्गल सफारी मार्ट पर्यटन बोर्डकै नेतृत्वमा गर्ने तयारी गरेको जानकारी दिए । उनले चितवन राष्ट्रिय निकुञ्ज भित्र होटेल सञ्चालन गर्न सरकार तयार हुनुपर्ने समेत बताए ।

    नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट नाटाका महासचिव कुमार थपलिया र उद्योग वाणिज्य महासङ्घ पर्यटन समिति संयोजक अशोक गुँरागाईले भरतपुर भौगोलिक रूपमा पनि मध्य भागमा रहेकोले भ्रमण वर्ष सुस्ताएको पर्यटन उकास्नको लागि कोशे ढुङ्गा साबित हुने बताए ।

    भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर भ्रमण वर्षले चितवन मात्रै नभई देशकै पर्यटनमा टेवा पुर्‍याउने भएकोले सबै पक्षको साथ र सहयोगको अपेक्षा गरिएको बताए । उपप्रमुख अधिकारीले सन् २०२४ भित्र सरकारी तथा गैरसरकारी संस्थाका राष्ट्रिय स्तरका कार्यक्रम भरतपुरमा गर्दा महानगरले सहयोग गर्ने नीति लिएको उल्लेख सबै पक्षलाई भरतपुरमा कार्यक्रम गर्न आव्हान गरे ।

    भरतपुर महानगरका पर्यटन विज्ञ विश्व सुवेदीले भरतपुरको पर्यटन र यहाँका सम्भावनाका बारे जानकारी दिए । सुवेदीले चितवनको टुरिजमका लागि देशकै पहिलो स्थानमा रहेको उल्लेख गर्दै सबै पक्षको सहयोगमा भरतपुर भ्रमण वर्ष सफल हुने बताए ।

    भ्रमण वर्षका अन्तर्राष्ट्रिय समन्वय उपसमिति संयोजक सोम सापकोटाले सन् २०२४ मा उल्लेख्य पर्यटन चितवन भित्र्याउन हाल ५४ राष्ट्रमा प्रचार अभियान जारी रहेको जानकारी दिए ।

    भ्रमण वर्ष कार्यसम्पादन समितिका सदस्य सचिव तेजेन्द्र पौडेलले स्वागत गर्दै भरतपुरमा भौतिक विकास तीव्र भएको र सम्पदाको खानी भएकोले सन् २०२४ मा भरतपुर घुम्न निम्तो दिए ।

    भरतपुर महानगरले विशेष समारोहको आयोजना गरी अब छिट्टै भरतपुर भ्रमण वर्ष २०२४ को बिधिवत शुभारम्भ गर्दै छ । २०२४ सदस्यीय मूल समारोह समिति,कार्य सम्पादन समिति र विभिन्न उपसमिति गठन गरी भ्रमण वर्षको तयारीका काम भइरहेको महानगरले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend