logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:29 AM

  • भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्न माग गर्दै व्यवसायी आन्दोलित

    भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्न माग गर्दै व्यवसायी आन्दोलित


    पर्यटन नेपाल

    शुक्रबार, २२ मंसिर २०८०


    बुटवल । गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित नभएको भन्दै रुपन्देहीका उद्योगी–व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

    रुपन्देहीमा रहेका ३२ वटा संघसंस्था आवद्ध सिद्धार्थ सञ्जाल रुपन्देहीले पूर्वघोषित कार्यक्रमअनुसार शुक्रबार भैरहवामा सडकमा उत्रिएर आन्दोलन थालेको हो ।

    भैरहवाको देवकोटा चोकबाट सुरु भएको विरोध प्रदर्शन बैंकरोड, मिलनचोक, नारायणपथ हुँदै बुद्धचोकमा पुगेर टुंगिएको थियो ।

    आन्दोलनमा उत्रिएका उद्योगी(व्यवसायीले विमानस्थलमा अध्यागमन, भन्सार, क्वारेन्टिन, हुलाक, श्रम, स्वास्थ्य परीक्षणलगायत विमानस्थलसँग सम्बन्धित सरकारी कार्यालय स्थापना गर्न माग गर्दै नाराबाजी गरेका छन् ।

    सरकारले आफ्ना माग पूरा नगर्दासम्म आन्दोलन जारी रहने सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए । यसअघि सञ्जालले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाएर अन्तर्राष्ट्रिय उडान नियमित गर्न माग गरेको थियो ।

    माग सम्बोधन नभएपछि व्यवसायीहरु बाध्य भएर सडकमा उत्रिएको सञ्जालका संयोजक चन्द्रप्रकाश श्रेष्ठले बताए ।

    डेढ वर्षअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको विमानस्थलबाट केही समय जजिरा र हिमालयन एअरलाइन्सले उडान गरे पनि झण्डै एक वर्षदेखि रोकिएको छ । हाल विमानस्थलबाट बुद्ध, यति, श्री एअरलायन्सका १५ वटा जहाजले आन्तरिक उडान गरेका छन् ।

    सिद्धार्थ सञ्जालसँगै नेपाल एशोसियसन अफ ट्राभल्स एण्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी र सिद्धार्थ उद्योग वाणिज्य संघ पनि विमानस्थलबाट सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमको जहाजबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालन गर्न माग गर्दै छुट्टै आन्दोलनमा छन् ।

    राष्ट्रिय ध्वजाबाहक जहाजको उडान नहुँदासम्म अन्य स्वदेशी तथा विदेशी विमान कम्पनी आकर्षित नभएकाले नेपाल वायु सेवा निगमका जहाजबाट नियमित सेवा सुरु गर्नुपर्ने व्यवसायीको माग छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट हुने अन्तर्राष्ट्रिय उडानमध्ये कम्तीमा २५ प्रतिशतलाई अनिवार्य गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानको व्यवस्था मिलाउनुपर्ने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीलाई उडान अवतरणका लागि आकर्षित गराउन विभिन्न छुट सेवा दिइएकोमा त्यो छुट थप एक वर्षसम्मका लागि निरन्तरता दिनुपर्ने उनीहरुको माग छ ।

    माग सम्बोधन नभए उद्योगी व्यवसायी, विभिन्न संघ–संस्थाले विमानस्थलमा धर्ना दिनेदेखि आन्तरिक उडान ठप्प पार्नेसम्मका आन्दोलनका कार्यक्रम गर्ने उनीहरुले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend