logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:05 AM

  • धरान उपमहानगरको श्रम संस्कृति उद्यान पर्यटकका लागि आकर्षक गन्तव्य

    धरान उपमहानगरको श्रम संस्कृति उद्यान पर्यटकका लागि आकर्षक गन्तव्य


    पर्यटन नेपाल

    आइतबार, २४ मंसिर २०८०


    काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाको श्रम संस्कृति उद्यान पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ ।

    धरान घुम्न आउने जो कोही पनि उद्यानमा पुग्ने गरेका छन् । उद्यान वरपर गरिएको वृक्षरोपणले सबैको मन आनन्दित हुन्छ ।

    पहिला बगर र झाडी भएको ठाउँमा अहिले फूल र बोटबिरुवा हुर्केका छन् । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) र उनका सहयोगीले निर्माण गरेको उद्यान पछिल्लो समय धरानको नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको छ ।

    बगैँचाको एक छेउमा धरानको पहिचान झल्किने गरी काठ काट्ने आरा धरानको नमूना निर्माण गरिएको छ । त्यसको छेउमा किरात संस्कृतिमा महत्वपूर्ण मानिने चिन्डोको आकृति झल्किने धारा बनाइएको छ ।

    उद्यानको वरिपरि विभिन्न मनकारीले आफन्तका नाममा पर्यटकलाई बस्न मिल्ने गरी फाइबरका फलैँचा र कुर्सी निर्माण गरिदिएका छन् ।

    उद्यानका ठाउँठाउँमा ‘साउन्ड बक्स’ राखिएका छन् । त्यसबाट सङ्गीतको धुन गुञ्जिरहेको हुन्छ । शान्त र सुन्दर वातावरणमा सुमधुर सङ्गीतको धुनले त्यहाँ पुग्ने पर्यटकको मनै आनन्दित हुन्छ ।

    उद्यानमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म घुम्नका लागि पुग्ने गरेका छन् ।उद्यान युवापुस्ताका लागि साथीहरुसँग घुम्ने आकर्षक गन्तव्य बनेको छ ।

    धरान उपमहानगरपालिकाले उद्यान, यस क्षेत्रमा भएको वृक्षरोपण र खानेपानीको मुहान संरक्षण गर्न दैनिक छ देखि सात जना नगर प्रहरी परिचालन गर्ने गरेको छ ।

    उद्यान क्षेत्रमा खटिएकी नगर प्रहरी कविता कार्कीका अनुसार यो क्षेत्र घुम्न दैनिक दुई सयदेखि तीन सय आन्तरिक पर्यटक आउने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend