काठमाडौँ । पोखरामा २५ औँ ‘पोखरा सडक महोत्सव’ गरिने भएको छ ।
यही पुस १२ गतेदेखि १६ गतेसम्म आयोजना गरिने पोखरा सडक महोत्सव पोखरा फेवातालको आसपासमा गरिने भएको हो ।
‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ पोखरा सडक महोत्सवको आयोजना गरेको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान)ले जनाएको छ ।
महोत्सवबाट ८० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको रेबानले जनाएको छ । आन्तरिक र बाह्य पर्यटकलाई अङ्ग्रेजी वर्षको गन्तव्य स्थल’का रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको रेबानले जनाएको छ ।
महोत्सवमा २५ वटा खानाका स्टलहरू, हस्त कला र अर्ग्यानिक खानाका परिकारका स्टलहरू निःशुल्क रहने छन् । त्यस्तै, महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेष भूषा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, खुल्ला भेट्रान टेनिस प्रतियोगिता, वेटररेस लगायतका कार्यक्रम रहने आयोजकले जनाएको छ ।
महोत्सवमा नेपालको पर्यटन क्षेत्रको विकासका लागि टक सोहरू समेत आयोजना गरिने र महोत्सवमा आउने दर्शकका लागि सुरक्षा व्यवस्था कडा पारिएको समेत आयोजकले जनाएको छ ।