logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:33 AM

  • रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय तयारी समितिले बुझायो पर्यटन मन्त्रालयलाई प्रस्ताव 

    रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय तयारी समितिले बुझायो पर्यटन मन्त्रालयलाई प्रस्ताव 


    पर्यटन नेपाल

    बुधबार, ११ पुष २०८०


    काठमाडौँ । नेपाल वैदिक कालदेखि नै ज्ञान, सीप र कलार कौशल सृजनाको केन्द्र रहिआएको देश हो ।
    यहाँ किरात कालदेखि नै धेरै किसिमका सीप, कलार, कौशल र मौलिक संस्कृतिको प्रादुर्भाव भएको पाइन्छ । मानव सभ्यताको विकासक्रममा यहाँका विभिन्न रैथाने जाति र समुदायहरूले विभिन्न किसिमका सीप, कलारकौशलको विकास तथा मानव संस्कृतिको निर्माण गरी आजको आधुनिक युगसम्म ल्याउन महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । तर आधुनिकता सँगसँगै भूमण्डलीकरणका कारण यस्ता आनुवांशिक ज्ञान तथा रैथाने सीप, कलार कौशल र संस्कृति ओझेलमा पर्दै गएका छन् ।
    नेपालमा विगत लामो समयदेखि जसले शिक्षा पायो उसले श्रम र श्रमिकलाई सम्मान गर्ने संस्कृति बसाउन सकेन भने श्रम गर्नेहरुलाई संरचनात्मक ढंगले शिक्षाबाट बन्चित गरायाे । परिणामस्वरुप आजसम्म न त रैथाने सीप र प्रविधीको संस्थागत विकास हुन सक्यो न त रैथाने सीपका धनी समुदायको आर्थिक र सामाजिक उन्नति नै ।
    बरु समाजमा यससँगै नैतिक मूल्य र मान्यताहरूका साथै मानवताका आधारमुत कुराहरु निरन्तर ह्रास हुँदै गए । न त मुलुकमा स्थापित विश्वविद्यालयहरुले यसलाई अध्ययनको विषयवस्तु बनाउन नै सकेको देखियो । फलस्वरुप आफ्नै रैथाने शिल्पकला तथा संस्कृतिको जगेर्ना मार्फत् समाजलाई नैतिक मूल्य र मान्यताका साथ समृद्ध र आत्मनिर्भर बनाउने अवसर मुलुकले गुमाइरहेको देखिन्छ ।
    विश्वमा यो विषयलाई गम्भीरका साथ लिइएको छ । भारतमा बाबा साहेब डा. अम्बेडकरको नाममा दुई दर्जन भन्दा बढी विश्वविद्यालय र कलेजहरू छन् । त्यस्तै, सन् २००७ मा इन्दिरा गान्धी नेशनल ट्राइवल युनिभरसिटी नामको एक विशिष्ट विश्वविद्यालय पनि स्थापना भएको छ । जसलाई विश्वविद्यालय अनुदान आयोग मार्फत केन्द्र सरकारले पूर्ण रूपमा खर्च व्यहोर्ने गर्छ ।
    अहमदाबाद विश्वविद्यालय अन्तर्गत हेरिटेज म्यानेजमेन्ट सेन्टर सहित धेरै हेरिटेज लर्निंग सेन्टरहरू र रैथाने कलेजहरू रहेकाछन्।  त्यस्तै प्रान्तीय सरकारबाट Rajasthan ILD Skills University (RISU) र Indian Institute of Crafts and Design, Jaipur स्थापना भई सन्चालनमा रहेका छन् । नीजि क्षेत्रबाट समेत ATLAS SkillTech University समेत सफलतापुर्वक संचालनमा रहेको छ । बङ्गलादेशमा त सांस्कृतिक मामिला मन्त्रालय अन्तर्गत बङ्गलादेश शिल्पकला एकेडेमी सन् १९७४ देखि नै सक्रिय छ । जसको संजाल सबै जिल्ला र उप-जिल्लाहरूमा फैलिएको छ । नेपाल स्वदेशी ज्ञान, सीप, संस्कृति र समग्र सम्पदामा धनी भए तापनि यसमा केन्द्रित रहेर यस्ता प्राज्ञिक संस्थाहरू स्थापना हुन सकेनन् ।
    नेपालको आधारभूत र उच्च शिक्षा आयातित ज्ञानबाट सुरु भएको पाइन्छ । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले राणा बालवालिकालाई अङ्ग्रेजी पढाउने उद्देश्यले औपचारिक रूपमा प्राथमिक शिक्षाको सुरुवात गरेका थिए । पछि त्यही दरबार हाइस्कुलकमा रुपान्तरण भयो । सन् १९१९ मा स्थापना भएको पहिलो उच्च शैक्षिक संस्था त्रिचन्द्र कलेजमा पनि कलकत्ता र पटना विश्वविद्यालयका पाठ्यक्रमहरू निर्धारण गरिएका थिए । त्रिभुवन विश्वविद्यालयको स्थापना पश्चात पनि आधुनिक शिक्षाका नाममा पश्चिमी शिक्षाको बर्चश्व बढ्दै गयो र त्यो क्रम अहिलेसम्म जारी छ ।
    नेपाल सरकारले जारी गरेको राष्ट्रिय संस्कृति नीति २०६७, उच्च शिक्षा आयोगको प्रतिवेदन २०७५ र राष्ट्रिय शिक्षा नीति २०७६ मा उद्घोष गरिए अनुसार मुलुकमा रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापना गर्नका लागि विगत केही समय देखि यस विषयका जानकार तथा सरोकारवालाहरु रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपाल (यस पछि प्रतिष्ठान भनिएको) को नाममा गठित भई अभियान चलाउदै आएका छन । हुन त यो विषय औपचारिक अनौपचारिक तथा बौद्धिक ढंगले धेरै पहिलेदेखि चर्चा हुने गरेको विषय हो । तर यसले मुर्त रुप लिन सकेको थिएन । पछिल्लो समय विशेष गरी गणतन्त्र प्राप्ति पछि नेपालमा विभिन्न समुदायगत तथा विधागत रुपमा जस्तै किरात, नेवा, मुस्लिम,  जनजाति, दलित, हस्ताकला आदि विश्वविद्यालय स्थापनाको माग जोडदार रुपमा उठ्दै आएको छ । सो अनुरूप प्रदेश सरकार र स्थानीयतहहरूले त्यस सम्बन्धी कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएका छन् । कतिपय स्थानीयतहहरूले त यस सम्बन्धमा स्थानीय पाठ्यक्रम समेत निर्माण गरी विद्यालयस्तरमा पठनपाठन गराउन थालिसकेका छन् । तर यस्तो अध्ययनलाई उच्चशिक्षासम्म पुर्याउनका लागि त्यस्तो शैक्षिक संस्था भने हालसम्म स्थापना भएको छैन ।
    सोही कुरालाई मध्यनजर गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सम्भाव्यता अध्ययन गराई हाल तयारी समिति गठन गरिएको छ । उक्त समितिले हालसम्म गरेका काम कारवाहीको अध्यावधिक गर्दै विश्वविद्यालय सञ्चालन सम्बन्धी प्रारम्भिक प्रस्ताव पेश गरिएको छ ।
    २. अध्ययन समिति तथा तैयारी समितिको गठन
    पछिल्लो समय प्रतिष्ठानको पहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा माननीय मन्त्री सुदन किँराती र उच्च पदाधिकारीहरुसँग २०७९ चैत्र ९ गते प्रस्तावित विश्वविद्यालय स्थापना सम्बन्धमा छलफल भएको थियो ।
    उक्त छलफलको नतिजा स्वरुप रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय स्थापना सम्बन्धमा सम्भाव्यता अध्ययन गर्न नेपाल सरकार माननीय मन्त्रीस्तरको २०७९/१२/२० को निर्णयानुसार पूर्व सचिव तथा प्रतिष्ठानका अध्यक्ष डा. मान बहादुर बीकेको संयोजकत्वमा तपसिल बमोजिमको पाँच सदस्यीय एक अध्ययन समिति गठन भएको थियो ।
    संयोजक डा. मान वहादुर बीके (पुर्वसचिव तथा रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपालका अध्यक्ष)
    सदस्य श्री राजन मुकारुङ (साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य)
    सदस्य श्री भोगीराज चाम्लिङ (मुन्दुम तथा संस्कृतिका अध्येता)
    सदस्य श्री गिता चौधरी (राष्ट्रिय युवा परिषदकि पुर्व सदस्य तथा कानुन व्यवसायी)
    सदस्य सचिव डा. सुरेशसुरस श्रेष्ठ (मन्त्रालयका सहसचिव)
    समितिले विभिन्न सरोकारवालाहरुसंग परामर्श गरी मिति २०८० जेष्ठ २९ गते प्रतिवेदन मन्त्रालयमा बुझाएको थियो।
    सोही प्रतिवेदनको सिफारिस बमोजिम् उक्त समितिमा एक जना प्रध्यापकर अभियन्ता र सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधीहरु रहने गरी १० सदस्य रैथाने शिल्पकला तथा संस्कृति विश्वविद्यालय तयारी समिति मिति २०८० अषाढ २५ गतेको नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मंत्रालयको निर्णयानुसार गठन भएको छ ।
    उक्त समितिका पदाधिकारी निम्नानुसार रहेका छन्।
    संयोजक (डा. मान वहादुर बीके (पुर्व सचिव तथा रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठानका अध्यक्ष)
    सदस्यहरु
    श्री राजन मुकारुङ (साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य)
    श्री भोगिराज चाम्लिङ (मुन्दुम तथा संस्कृतिका अध्येता)
    श्री गिता चौधरी (राष्ट्रिय युवा परिषदकि पूर्व सदस्य तथा कानून व्यवसायी)
    डा। लिला न्याइच्याई, उप(प्राध्यापक त्रिभुवन विश्वविध्यालय
    प्रतिनिधी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
    प्रतिनिधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा मंत्रालय
    प्रतिनिधि, उध्योग वाणिज्य तथा आपूर्ति मंत्रालय
    प्रतिनिधि, विश्वविध्यालय अनुदान आयोग
    ३. रैथाने शिल्पकला तथा संस्कृति विवि तयारी समितिको कार्य विवरण
    मन्त्रालयबाट गठन गरिएको तयारी समितिको कार्यविवरण निम्नानुसार तोकिएको थियो।
    १. रैथाने सीप, कला तथा संस्कृति संवर्धनका सम्बन्धमा संगठित रुपमा भई रहेका कार्यहरुको नक्शाकन गर्ने।
    २.  भौतिक पुर्वाधारका लागि सरकारका कतिपय मिल्दा निकायहरुबाट प्रस्तावित विवि शुरु गर्न त्यस्ता सम्भाव्य निकायहरुको यकिन गरी सिफारिस गर्ने।
    ३.  सरकारले निर्माण गरी प्रयोग विहिन रहेका वा निष्क्रिय संरचनाहरुको प्रस्तावित विविका लागि प्रयोग गर्न सकिने बारे अध्ययन गरी सिफारिस गर्ने।
    ४. प्रदेश सरकारको समन्वयमा स्थानीय तहहरु सँगको सहकार्यमा प्रस्तावित विविको केन्द्रिय कार्यालय तथा महाविध्यालयहरुका लागि सम्भाव्य स्थानको खोजी गरी सिफारिस गर्ने।
    ५. अन्य मुलुकहरुमा संचालनमा रहेका यस्तै प्रकृतिका विश्वविध्यालय वा शैक्षिक संस्थाहरुको स्थापना, संचालन ढाँचा र दीगोपना बारे अध्ययन गर्ने।
    ६. प्रस्तावित विश्वविध्यालय स्थापनाका लागि अध्ययन प्रतिवेदनमा उल्लेखानुसारको ढाँचामा आवश्यक पर्ने कानूनको मस्यौदा तयार गरी पेश गर्ने।
    ७. स्थानीय तहमा रैथाने शिल्पकला तथा संस्कृति सिकाई केन्द्र स्थापनाका लागि प्रदेश सरकारको समन्वयमा सहजिकरण गर्ने।
    ८. प्रस्तावित विवि संचालनका लागि अन्य संरचना र साधनको यकिन गरी त्यसका संभाव्य स्रोतहरु पहिचान गर्ने।
    ९. आवश्यक भौतिक पुर्वाधारको निर्माण तथा नीतिगत प्राव्धानको व्यवस्था गर्न अध्ययन गरी सिफारिस गर्ने।
    १०. सिकाई कार्यक्रमका आधारभुत विषयवस्तु पहिचान गरी सिकाई बिधी र प्रक्रिया तय गर्ने।
    ११. यो विविलाई मुलुककै UNESCO Category-II Institute का रुपमा विकास गर्न आवश्यक प्रक्रियाको अध्ययन गरी सिफारिस गर्ने।
    १२. विश्वविध्यालय स्थापना तथा संचालनका लागि आवश्यक अन्य कार्य गर्ने।
    अबको चरण भौतिक रुपमा नै काम गर्ने चरण भएकोले समितिलाई एक सचिवालय, केही कर्मचारी र आवश्यक बजेटको व्यवस्था गरिदिनु पर्ने प्रतिवेदनमा उल्लेख गरिएको भएता पनि त्यस्तो व्यवस्था हालसम्म हुन सकेन।
    ४. तयारी समितिको काम कारवाही
    माथि उल्लेख गरिए अनुसार तयारी समिति गठन गरिएको भएता पनि समितिको काम कारवाहीका लागि कुनै बजेट विनियोजन नगरिएको हुँदा औपचारिक बैठक बसी काम कारवाही अघि बढाउन नसकिएको र हालसम्म श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि बाहेक अरु मन्त्रालय र निकायबाट प्रतिनिधी तोकिन समेत बाँकी रहेको छ । तथापी मिति २०८० कार्तिक २ गते र  मंसीर १८ गते ‌औपचारिक बैठक बसिएको थियो । भने अनौपचारिक रुपमा विभिन्न माध्ययमबाट विषयका विभिन्न वीज्ञहरु समेतसँग छलफल गर्ने कार्य गरिएको थियो । यही दौरानमा २०८० भाद्र ४ गते लुम्विनी प्रदेशमा समेत एक छलफल कार्यक्रम सम्पन्न गरियो ।
    ५. प्रारम्भिक प्रस्ताव
    हालसम्मको प्रारम्भिक अध्ययनबाट निम्न प्रस्तावहरु अघि बढाइएको छ । 
    १. विभिन्न मन्त्रालय अन्तर्गत स्थापना भएका विषय मिल्दा तालिम केन्द्र वा अध्ययन प्रतिष्ठानहरु समेटेर प्रस्तावित विश्वविध्यालयको रुपमा परिमार्जन गर्ने ।
    २. यस्तै कार्य गर्नका लागि समुदायस्तरबाट स्थापना भई सञ्चालनमा रहेका संघसंस्था र तालिम केन्द्र, अध्ययन केन्द्र र संग्रहालय आदि समेटी एक सामुदायिकस्तरको विश्वविद्यालयको प्रवर्धन गर्ने ।
    ३. संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो कार्यको अगुवाई गरिरहेको हुदा मन्त्रालय अन्तर्गत रहेका सम्बन्धित निकायहरुलाई समायोजन गरी प्रस्तावित विश्वविद्यालयमा स्तरोन्नती गर्ने । र क्रमागत तवरले अन्य मनत्रालय अन्तर्गत सञ्चालित मिल्दा निकायहरु र समुदायस्तरमा सञ्चालित कार्यक्रम समाहित गर्दै जाने ।
    माथि उल्लेखित प्रस्तावहरु मध्य तेस्रो प्रस्ताव अगाडि बढाउने स्वन्धमा निम्नानुसार विस्तृतीकरण गरिएको छ । 
    रैथाने शिल्पकला तथा संस्कृति विश्वविध्यालय तैयारी गर्ने क्रममा मन्त्रालय अन्तर्गतको सम्भावनाको खोजि गर्दा निम्न कुरा प्रस्ताव गरिएको छ ।
    १. सन् १९७२ देखि मन्त्रालय अन्तर्गत विकास समिति ऐन २०१३ अनुसारको गठन आदेशबाट Nepal Academy of Tourism and Hotel Management (NATHM) स्थापना गरी त्रिविको सम्वन्धनमा पर्यटन तथा होटल व्यवस्थापनका शैक्षिक कार्यक्रमहरु सञ्चालनमा रहेको ।
    २. सन् २००२ देखि मन्त्रालय अन्तर्गत विकास समिति ऐन २०१३ अनुसार गठन आदेशबाट नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान स्थापना गरी त्रिविको सम्वन्धमा नेपाल पर्वतीय पर्यटन संवन्धी शैक्षिक कार्यक्रमहरु सञ्चालनमा रहेको ।
    ३. बौध्द दर्शनको संरक्षण तथा विकास गर्न र बौध्द संस्कृतिको संवर्धन गर्न २०४१ सालदेखि गठन आदेशबाट बौध्द दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति यही मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको छ । मुलुकको मौलिक धर्मका रुपमा बौध्द दर्शनको संरक्षण र बौध्द संस्कृतिको संवर्धन प्रस्तावित विश्वविद्यालयको कार्यक्षेत्र भित्र रहेको छ । 
    ४. मन्त्रालयकै सहयोगमा राष्ट्रिय जातीय संग्रहालय पर्यटन बोर्डको भवनमा सञ्चालनमा रहेको । कीर्तिपुरमा आवश्यक जग्गा लिजमा लिई भौतिक संरचनाहरु बन्ने क्रममा रहेको ।
    ५. उपरोक्त बुदा १ र २ का सम्वन्धमा विकास समितिको संरचनागत व्यवस्था नै अस्थायि प्रकृतिको रहेको तथा उच्च शिक्षा अध्यापन गराउने शैक्षिक संस्था आफैमा अस्थायी प्रकृतिको हुनु सिध्दान्त उपयुक्त नरहेको ।
    ६. नेपाल सरकारले पनि यस्ता एकै प्रकृतिका संस्थाहरुलाई एकिकृत गर्ने नीति रहेको ।
    सो सम्वन्धमा उपरोक्त दुबै सरकारी शैक्षिक संस्था, बौध्द दर्शन प्रवर्धन तथा गुम्बा विकास समिति, राष्ट्रिय जातीय संग्रहालय र रैथाने शिल्पकला तथा सम्पदा प्रतिष्ठान नेपाल समेतलाई प्रस्तावित विश्वविद्यालयको ढाँचाभित्र समाबेश गरी संचालन गर्न उपयुक्त हुने । यसो गर्दा निम्न उपयोगिता हुने ।
    १. सरकारको नीति अनुसार प्रस्तावित विश्वविद्यालय संचालनमा आउने । 
    २. उल्लेखित शैक्षिक संस्थाहरु साविक कै संरचना अनुसार विश्वविद्यालयको ढाँचामा परिस्कृत गरी संचालनमा आउने ।
    ३. आफै विश्वविद्यालय हुने हुँदा पाठ्यक्रम निर्माण र पठन विधी मुलुकको आवश्यकता अनुसार तयार गर्न सकिने ।
    ४. राष्ट्रिय जातिय संग्रहालयलाई उपलव्ध गराइएको भवनमा संग्रहालय बने पछि राष्ट्रिय स्तरको सांस्कृतिक सिकाइ केन्द्रका रुपमा संचालन हुने । गुम्बाहरुलाई विशुध्द बौध्द दर्शन र बौध्द संस्कृतिको सिकाई केन्द्रका रुपमा विकास गरिने। बौध्द दर्शनलाई अलग्गै शैक्षिक विभागको रुपमा अघि बढाइने ।
    ५. प्रतिष्ठानबाट गैह्रशैक्षीक कार्यक्रमका रुपमा हुदै आएको पठनपाठन लगायतका शैक्षिक क्रियाक्लाप विश्वविद्यालयको औपचारिक सिकाईका रुपमा रुपान्तरण हुने । 
    ६. अन्य मन्त्रालय र प्रदेश सरकार अन्तर्गत संचालनमा रहेका सम्वन्धित निकायहरु तथा समुदायस्तरमा संचालनमा रहेका संघसंस्थाहरु पनि समावेश हुँदै जाने । 
    ७. यसो गर्दा सरकारलाई थप व्ययभार नपर्ने । प्रस्तावित विश्वविद्यालयको काम छिटै शुरु गर्न सकिने ।
    ८. उपरोक्त कार्यलाई अघि बढाउन ती संस्थाका प्रतिनिधीहरु समेत थप गरी तयारी समितिलाई मन्त्री परिषद्बाट स्विकृत गराउन उपयुक्त हुने । 
    ९. यी सबै निकाय बागमती प्रदेशमा भएको र उक्त प्रदेशमा यस्ता निकायहरु मिलाएर सामुदायिक विश्वविद्यालय बनाउन सकिने प्रावधानसहितको उच्च शीक्षा ऐन पारित भई कार्यान्वयनमा आईसकेकाले हाललाई प्रदेशस्तरको विश्वविद्यालय बनाउन पनि सकिने । 
    १०. कामको दायरा बढ्दै जादा राष्ट्रियस्तरमा सतरोन्नती गर्न सकिने । 
    हाललाई उपरोक्त विधी अपनाउदा व्यय भार पनि नथपिने भईरहेका संरचनाहरुले यथावत स्वतत्र ढंगले काम गर्न पनि पाउने र सरकारको एकिकृत गर्ने नीतिगत प्रावधान पनि कार्यान्वयन हुने हुँदा यो प्रस्तावलाई अघि बढाउन उपयुक्तदेखी प्रस्ताव मन्त्रालयमा पेश गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend