logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:27 AM

  • १ लाख बढी पर्यटक भित्र्याउने बन्दीपुरको योजना, ‘घुम्न जाऔँ है बन्दीपुर’ अभियान सुरु

    १ लाख बढी पर्यटक भित्र्याउने बन्दीपुरको योजना, ‘घुम्न जाऔँ है बन्दीपुर’ अभियान सुरु


    पर्यटन नेपाल

    बुधबार, ११ पुष २०८०


    काठमाडौँ । बन्दीपुर गाउँपालिकाले ‘घुम्न जाऔँ है बन्दीपुर’ अभियान सुरु गरेको छ ।

    गाउँपालिकाको नेतृत्वमा पालिकाका होटल व्यवसायी, पर्यटन व्यवसायी, उद्योगीहरुसहितको टोली बन्दीपुरमा आन्तरिक पर्यटकलाई निम्तो बाँड्ने अभियान लिएर मुख्य शहरी क्षेत्रमा पुगेका हुन् ।

    बन्दीपुरमा साना ठूला गरेर ६६ वटा होटल छन् । एउटा पाँच तारे होटल र केवलकार निर्माणको अन्तिम चरणमा छ ।

    गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाका अनुसार ठूला शहरबाट आन्तरिक पर्यटकलाई बन्दीपुर भित्र्याउन ‘जाऔँ है बन्दीपुर’ अभियान देशका प्रमुख शहरमा केन्द्रित गरिएको छ । सो टोली चितवन हुँदै रूपन्देहीको बुटवल भैरहवाबाट अभियान सुरु गर्न हिँडेको हो ।

    अध्यक्ष थापाले भने, ‘बन्दीपुरमा कोभिड महामारी अघिसम्म वर्षमा डेढ लाख जनासम्म पर्यटक बर्षमा आउँथे, कोभिड पछि त्यो क्रम घटेर ५० हजारमा झर्‍यो, अहिले फेरि पुरानै अवस्थामा फर्काउन पालिकाको अगुवाइमा अभियान चलाएका छौँ । देशका प्रमुख शहर काठमाडौँ, पोखरा, चितवन, बुटवल, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, विराटनगर लगायतका मुख्य शहरमा प्रचारप्रसार र अन्तर्क्रिया छलफल गर्दै हिँड्छौँ ।’ यो बर्षभरि नै देशका प्रमुख शहरमा पुगेर बन्दीपुरका बारेमा प्रचारप्रसार गर्ने, विभिन्न अभियान चलाउने योजना गाउँपालिकाले बनाएको छ ।

    पोखरा, चितवन तथा काठमाडौँको बीच भागमा रहेको पर्यटकीय प्रमुख गन्तब्य बन्दीपुरलाई पहाडकी रानीको उपमा दिने गरिएको छ । पृथ्वी राजमार्गको डुम्रे बजारबाट ९ किलोमिटर उकालो बाटो गएपछि पुग्न सकिने बन्दीपुरबाट ४५ किलोमिटर लामो हिमालयको सुन्दर रेन्ज देखिने बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले बताए ।

    ‘तराईका जिल्लामा उखरमउलो गर्मी हुँदा शितल चिसो हावा चल्ने र जाडोमा तराईमा हुस्सु कुहिरो लाग्दा विहानै पहारिलो घाम लाग्ने बन्दीपुर आफैंमा अनुपम छ । स्थानीय खाना, जातीय संस्कृतिको संगमका लागि पनि बन्दीपुर उत्तिकै महत्वपूर्ण छ,’ प्रधानले भने ।

    बन्दीपुरका पर्यटन व्यवसायी बयस गुरूङले मुग्लिन डुम्रेको सडक अबको एक महिनाभित्र मर्मत सकिने भन्दै बन्दीपुर आउने पर्यटकलाई सहज हुने बताए । जाऔं है बन्दीपुर अभियानलाई लक्षित गरेर होटल लगायतका क्षेत्रमा विषेश अफर र प्याकेजहरु घोषणा गरिने उनले बताए ।

    गाउँपालिकाले बर्षभरि नै चलाउने यो अभियानबाट १ लाखभन्दा बढी पर्यटकलाई बन्दीपुर भिर्याउने योजना छ । गाउँपालिकाले विभिन्न पर्यटकीय केन्द्रहरुको जानकारी दिन डिजिटल क्यूआर बोर्डको समेत व्यवस्था गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend