logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:28 AM

  • ‘पर्यटन आर्थिक विकासको मेरुदण्ड’

    ‘पर्यटन आर्थिक विकासको मेरुदण्ड’

    पर्यटन बोर्डका अध्यक्ष समेत रहेका पर्यटन मन्त्रालयका सचिव डा. दीपक काफ्लेले नेपालको पर्यटन विश्वमा अनुपम रहेको उल्लेख गर्दै पर्यटन विकासको लागि बोर्डलाई थप प्रभावकारी ढंगले अघि बढाइने बताए ।


    पर्यटन नेपाल

    सोमबार, १६ पुष २०८०


    काठमाडौँ । नेपाल पर्यटन बोर्डले आफ्नो स्थापनाको २५ औं वर्षमा प्रवेश गरेको छ ।

    पब्लिक प्राइभेट पार्टनरसीप (पीपीपी) मोडलमा स्थापित नेपालको पहिलो संस्थाका रुपमा स्थापना गरिएको बोर्डले आइतबार राजधानीमा एक विशेष समारोहकाबिच बोर्डको रजत महोत्सव मनायो ।

    नेपालको पर्यटन क्षेत्रको विकास एवम् विस्तारका लागि निजी-सरकारी साझेदारीमा छुट्टै निकाय बनाउने उद्देश्यसहित सन् १९९८ डिसेम्बर ३१ मा बोर्डको स्थापना गरिएको थियो ।

    रजत महोत्सवको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन आर्थिक विकासको मेरुदण्ड भएको उल्लेख गर्दै नेपालीपन, स्थानीय स्वाद र स्वामित्वको पर्यटन आजको आवश्यक्ता भएको बताए ।

    सन् २०२३ मा १० लाख बढि पर्यटकले नेपाली भ्रमण गरेको र यसबाट पर्यटक आगमनमा सरकारले लिएको लक्ष्य पुरा भएको भन्दै उहाँले पर्यटनको नीतिगत सुधार तथा अन्य आवश्यक सुधारको लागि काम भइरहको जानकारी दिए ।

    पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले नेपालको पर्यटन प्रर्वद्धनका लागि विश्व पर्यटनमा देखिएका बदंलिदा आयामहरुको अनुभव लिदै सोही अनुरुप कार्यक्रम ल्याउनु पर्ने आवश्यक्तामाथी जोड दिए ।

    बोर्डका प्रथम अध्यक्ष एवम् पूर्व पर्यटन सचिव दीपेन्द्रपुरुष ढकालले बोर्डको स्थापनाको औचित्यमाथी प्रकाश पार्दै यसलाई कमजोर होइन थप बलियो बनाएर लैजानु पर्नेमा जोड दिए ।

    पर्यटन बोर्डका अध्यक्ष समेत रहेका पर्यटन मन्त्रालयका सचिव डा. दीपक काफ्लेले नेपालको पर्यटन विश्वमा अनुपम रहेको उल्लेख गर्दै पर्यटन विकासको लागि बोर्डलाई थप प्रभावकारी ढंगले अघि बढाइने बताए ।

    नेपाल भ्रमण वर्ष २०११ का संयोजक तथा व्यवसायी योगेन्द्र शाक्यले पछिल्लो पटक सरकारले वार्षिक ३५ लाख पर्यटक भित्र्याउने गरी भ्रमण दशक २०२३/२०३३ घोषणा गरेकोमा यसलाई सफल बनाउन स्पष्ट कार्यनीति बनाउनुपर्ने र सोही अनुसार लाग्नुपर्ने बताए ।

    कार्यक्रममा हानका निवर्तमान अध्यक्ष सिर्जना राणाले पर्यटन लयमा फर्किदै गएको सन्र्दभमा नेपाल प्रर्वद्धनको लागि थप नयाँ कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने बताइन् ।

    बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले विश्वव्यापी कोरोना महामारीले सन २०२०,२०२१/२०२२ त्यती सुखद नरहेपनि सन २०२३ को अन्तसम्म आइपुग्दा हामीले १० लाख बढि पर्यटक नेपाल भित्र्याउन सफल भएको र पर्यटन विस्तारै लयमा फकिर्दै गएको बताए ।

    सरकार, निजी क्षेत्र तथा सरोकारवालाको सहकार्यबाट बोर्ड यो अवस्थासम्म आइपुगेको उल्लेख डा. रेग्मीले संस्थाको स्थापना र विकासमा योगदान गर्ने सबैलाई आभार व्यक्त गरे ।

    कार्यक्रमको अवसरमा संस्थाको विकास र विस्तारमा योगदान गर्ने वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठ सहित बोर्डसंगको सहकार्यमा रहेका विभिन्न कुटनीतिक नियोग चिनीयाँ दुतावास, भारतीय दुताबास, अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरु युएनडीपी, युएएसएड, डब्ल्यूडब्ल्युएफ एवं अन्य पर्यटनसंग सम्बन्धित संस्थाहरु हान, नाटा, टान, नारा, पीटीसि एवं निजी क्षेत्रका अन्य विभिन्न संघसंस्थाहरु एवं विभिन्न व्यक्ति हरुलाई विशेष सम्मान गरिएको थियो ।

    यस्तै सो अवसरमा बोर्डमा २५ वर्ष निरन्तर सेवा गर्ने कर्मचारी वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, प्रबन्धक विमल कंडेल तथा कर्मचारीद्वय कल्याणी गौतम र झमकनारायण घिमिरेलाई सम्मान गरिएको थियो ।
    यस्तै वर्ष कर्मचारी सम्मानबाट सुशिलाकुमारी कुमारी बराल, सागर उपाध्याय, गोपाल भण्डारी र रामप्रसाद लामिछाने सम्मानित भएका छन् ।

    यसैगरी कार्यकारी प्रमुख सम्मानबाट बोर्डका सञ्चार परामर्शदाता टीपी भुसालसहित निमित्त निर्देशक लक्ष्मण गौतम र अन्य कर्मचारीहरु गोविन्द वली, रानु शाह, सूर्य थपलिया, खेमराज तिमिल्सेना, जानकीप्रसाद उपाध्याय, शिवराज पाण्डे, नारायण बस्याल, रमा दाहाल, जुना कार्की र प्रेरणा लामा तथा कार्यकारी प्रमुख विशेष सम्मानबाट श्री वैद्य, रामप्रसाद भट्ट र अन्जिर देउला सम्मािनत भएका थिए ।

    कार्यक्रममा रजत महोत्सवको अवसरमा आयोजित विभिन्न खेलमा विजयी कर्मचारी खेलाडीहरुलाई प्रमाणपत्र सिल्ड सहित प्रमाणपत्र वितरण गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend