logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:57 AM

  • आज नेपालले कीर्तिमान हासिल गरेको दिन

    आज नेपालले कीर्तिमान हासिल गरेको दिन


    पर्यटन नेपाल

    बुधबार, १० असोज २०८०


    काठमाडौँ । आज नेपालले कीर्तिमान नै कीर्तिमान हासिल गरेको दिन । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत पुरुष ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा नेपालले मंगोलियाविरुद्ध विश्व कीर्तिमानी हासिल गरेको हो ।

    आज बुधवार केही बेर अघि मात्रै सम्पन्न खेलमा नेपालले मंगोलियालाई २७३ रनले पराजित गर्दै कीर्तिमान हासिल गरेको हो । झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट मैदानमा मंगोलियाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो ।

    नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनायो । ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि टोलीले ३ सय रन बनाएको पहिलो पटक हो ।

    नेपालले दिएको तीन सय १५ रनको लक्ष्य पछ्याएको मंगोलिया १३ दशमलव एक ओभरमा ४१ रनमै अलआउट भयो । उसका लागि जम्यासुरेनले १० रन जोड्नु बाहेक अरू ब्याटरले सम्झिन लायक ब्याटिङ गर्न सकेनन् ।

    बलिङतर्फ नेपालका करण केसी, अभिनास बोहरा र सन्दीप लामिछानेले २/२ तथा सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।

    यसअघि मंगोलियाविरुद्ध ब्याटिङ गर्ने क्रममा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी ब्याटिङ गरे । कुशल मल्लले ३४ बलमै शतक प्रहार गर्दै अर्को विश्व कीर्तिमान बनाए । यसअघि सर्वाधिक छिटो शतकको कीर्तिमान दक्षिण अफ्रिकाका डेभिड मिलर, चेक रिपब्लिकका सुदेश विक्रमाशेखर र भारतका रोहित शर्माले बनाएका थिए । उनीहरूले ३५ बलमै शतक बनाएका थिए । मल्ल र पौडेलले आफ्नो अर्ध शतक समान १९ बलामा बनाएका थियो ।

    दीपेन्द्रसिंह ऐरीले मात्र नौ बलमा अर्ध शतक बनाएर अर्को विश्व कीर्तिमान बनाए । यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्ध शतक बनाएका थिए । कुशल मल्लले ५० बलमा अविजित एक सय ३७ रन तथा ऐरीले १० बलमा अविजित ५२ रन बनाए ।

    मल्लले यस क्रममा १२ छक्का र आठ चौका तथा ऐरीले आठ छक्का प्रहार गरे । यस्तै कप्तान रोहितकुमार पौडेलले २७ बलमा ६१, कुशल भुर्तेलले २३ बलमा १९ तथा आसिफ शेखले १७ बलमा १६ रन बनाए ।

    अब नेपालले समूह चरणको अर्को खेल मालदिभ्ससँग खेल्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend