logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:02 AM

  • मुलुकको अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री महत

    मुलुकको अर्थतन्त्र सुधारोन्मुख छ : अर्थमन्त्री महत


    पर्यटन नेपाल

    शुक्रबार, २० पुष २०८०


    रामपुर (पाल्पा) । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः सुधारोन्मुख हुँदै गएका बताएका छन् ।

    पाल्पाको रामपुर नगरपालिकामा रहेको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको २५औँ साधारण तथा रजत जयन्ती समारोह उद्घाटन गर्दै अर्थमन्त्रीले विगतको तुलनामा मुलुकको अर्थतन्त्र विस्तारै आफ्नै लयमा फर्किएको बताएका हुन् ।

    अर्थतन्त्रलाई अझै चलायमान र सुदृढ बनाउन सकारात्मक सोच र प्रचारप्रसारको आवश्यकता रहेको बताउँदै उनले बचतकर्ताको रकम हिनामिना गर्नेलाई कानुनको ल्याइने बताए । देशभरका सहकारीको नियमनका लागि सरकारले छुट्टै नियामक निकाय गठन गर्ने प्रक्रियाअघि बढाएको उनले बताए ।

    नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धन तथा कृषिको आधुनिकीकरणबाटै आर्थिक समृद्धि हासिल हुने उनले बताए ।

    लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठले छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै पूर्वी पाल्पाको विकासमा सहकारीले महत्वपूर्ण योगदान गरेको बताए । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले पछिल्लो समय सहर बजारका सहकारीमा अनियमितता भएका विवरण बाहिर आए पनि गाउँका सहकारीले नागरिकको जीवनस्तर माथि उकास्न ठूलो टेवा पुर्याएको बताए ।

    लघुवित्त कार्यक्रममार्फत शेयर सदस्यलाई आयआर्जनमुलक क्षेत्रमा लगानी गरेर कृषि, पशुपक्षीपालन, व्यापार व्यवसायबाट आत्मनिर्भर बनाउन सहकारीले जोड दिएको अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटाले बताए ।

    विसं २०५५ मा खेतको आलीमा गठन भएर मासिक ५० पैसाबाट बचत गर्न थालेको यो सहकारी अहिले पाल्पाकै नमूना सहकारीको रुपमा पहिचान बनाउन सफल भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend