काठमाडौँ । चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा एक लाख बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् ।
निकुञ्जमा जङ्गल सफारीमार्फत एक लाख बढी आन्तरिक तथा बाह्य पर्यटकहरुले निकुञ्जको अवलोकन गरेका हुन् ।
विश्वको वन्यजन्तु जनजीवन अवलोकनका लागि प्रसिद्ध मानिने चितवन राष्ट्रिय निकुञ्ज विदेशी पर्यटकहरुका लागि बढी रुचाइने क्षेत्र पनि हो । यस निकुञ्जमा गैंडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुर लगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन् ।
यसैगरी, घडियाल गोही, मगर गोही, अजिङ्गर लगायत सरिश्रृप तथा उभयचर, बसाइसरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरू रहने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा एक लाख बढी पर्यटक निकुञ्ज अवलोकन भ्रमण गरेको बताए ।
वरिष्ठ संरक्षण अधिकृत पुर्जा पुनले पछिल्लो पाँच महिनामा निकुञ्ज भित्रिएका एक लाख बढी पर्यटकबाट निकुञ्जले १० करोडभन्दा बढी राजश्व सङ्कलन गरेको उल्लेख गरे । उनले चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष तीन लाख बढी विदेशी तथा स्वदेशी पर्यटक आएको बताए । वरिष्ठ संरक्षण अधिकृत पुर्जा पुनले गत वर्ष तीन लाख पर्यटकबाट ३० करोड रुपियाँ राजश्व सङ्कलन गरेको जानकारी दिए । गत वर्षको तुलनामा यो वर्ष पर्यटक आगमन वृद्धि हुने निकुञ्जको अपेक्षा छ ।
‘‘चितवन राष्ट्रिय निकुञ्जको मङ्सिरसम्मको पर्यटन आगमनको तथ्याङ्क हेर्दा एक लाख बढी पर्यटक प्रवेश गरेका छन् । त्यसमा स्वदेशी तथा विदेशी पर्यटकहरु छन् । राजश्व आम्दानीको हिसावले चितवन राष्ट्रिय निकुञ्जले १० करोडभन्दा बढी राजश्व सङ्कलन भएको छ । गत वर्ष तीन लाख बढी पर्यटक चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गरेका थिए । जसबाट ३० करोड रुपियाँ राज्यलाई राजश्वको रुपमा आम्दानी भएको थियो । चितवन राष्ट्रिय निकुञ्ज विश्वमा जन्यजन्तु पर्यटकको लागि प्रसिद्ध छ ।