धनगढी । बुद्ध एयरको विमानले काठमाडौँ-धनगढीको उडान गरे पनि प्रतिकूल मौसमका कारण अन्य उडान भने अवरुद्ध भएका छन् ।
काठमाडौँबाट धनगढीका लागि दिउँसो १ :३१ बजे उडेको श्री एयरलाइन्सको जहाज खराब मौसमका कारण धनगढी विमानस्थलमा अवतरण गर्न नसकेर नेपालगञ्ज डाइभर्ट गरिएको थियो ।
श्री एयरलाइन्स धनगढीका प्रमुख गजेन्द्रबहादुर शाहीले बिहान ७:४० बजे उड्नुपर्ने जहाज खराब मौसमका कारण दिउँसो उडेपनि ४५ मिनेट आकाशमा फन्को मारेर नेपालगञ्ज डाइभर्ट भएको थियो । नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको विमान मौसम नखुलेपछि काठमाडौँ नै फर्किएको छ ।
बुद्ध एयरले भने बिहान १०: २० बजे उडान भरेको थियो तर मौसम बिग्रिएपछि साँझ ४ बजे र ६ बजेको उडान रद्द गरिएको बुद्ध एयरले जनाएको छ । बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएपछि काठमाडौँबाटै बुद्धको विमान नउडेको हो ।
धनगढीमा बुधबार बिहानैदेखि बाक्लो हुस्सु लागेको थियो । पछिल्लो केही दिनयता प्रतिकूल मौसमका कारण धनगढी विमानस्थलको उडान सेवा प्रभावित हुँदै आएको छ । बाक्लो हुस्सु र शितलहरका कारण चिसो बढेपछि जनजीवन समेत प्रभावित भएको छ ।