नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलबाट हुने उडानहरू दुई दिनदेखि अवरुद्ध भएका छन् । नेपालगञ्जबाट काठमाडौँ, पोखरालगायतका विभिन्न जिल्लाहरूमा हुने उडान दुई दिनदेखि अवरुद्ध भएका हुन् ।
नागरिक उड्डयन कार्यालय नेपालगञ्जले बाक्लो हुस्सुका कारण शनिबार बिहानदेखि उडान हुन नसकेको जनाएको छ ।
कार्यालय अनुसार हवाइ उडानका लागि १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने भए पनि ७/८ मिटर मात्रै भिजिबिलिटी भएका कारण उडान हुन नसकेको हो । दुई दिनदेखि उडान अवरुद्ध हुँदा करिब एक हजार यात्रु नेपालगञ्जमा रोकिएका छन । उडान अवरुद्ध भएपछि यात्रुहरु मौसम खुल्ने आशामा विमानस्थलमै बसिरहेका छन् ।
नेपालगञ्जबाट काठमाडौँका लागि बुद्ध एयरका ३, श्री एयरका २ र यति एयरको १ वटा उडान हुँदै आएको छ । नेपाल एयरलायन्स, समिट, तारा एयरले मुगु, जुम्ला, हुम्ला, डोल्पा र बाजुराका लागि नेपालगञ्जबाट उडान भर्दै आएका छन ।