logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:57 AM

  • आज एआइजीसहित २ सयभन्दा बढी सैलुङको यात्रामा

    आज एआइजीसहित २ सयभन्दा बढी सैलुङको यात्रामा


    पर्यटन नेपाल

    शुक्रबार, १२ असोज २०८०


    काठमाडौँ । दोलखाको पर्यटकीय क्षेत्र सैलुङको पर्यटन प्रवर्द्धन गर्न ‘स्पार्क एड्भेन्चर २०२३’ सुरु भएकाे छ । बिहीबार (आज) देखि धुलिखेलबाट दुई सयभन्दा बढीको टोलीले सैलुङको यात्रा सुरु गरेका हुन् ।

    धार्मिक पर्यटकीय स्थल सय थुम्काहरूको संगम सैलुङ फराकिलो हिमशृङ्खला देखिने उत्कृष्ट ‘हिल स्टेसन’ हो । यस पटक सैलुङको प्रकृति र विशेषतालाई एक्स्प्लोर गर्न छनोट गरिएको हो ।

    टोलीले ३५ मिनेट पैदल यात्रा गर्दै बिहीबार क्याम्पिङ टेन्टमा रात बिताउने छन् । चौँरी गोठ र त्यहाँको गोठाले जनजीवनसमेत अवलोकन गरिने भएकाले कार्यक्रमको नारा ‘वाइल्ड स्टे विथ चौँरी’ राखिएको छ ।

    टोलीलाई रामेछापको दोरम्बामा स्थानीयले स्वागत गर्ने र स्थानीय परिकारको स्वाद लिई सैलुङतर्फ प्रस्थान गर्ने स्पार्क कारले जनाएकाे छ ।

    यस कार्यक्रमका संयोजक अमर दीप भट्टराईका अनुसार असोजको ११ देखि १३ गतेसम्म हुने तीन दिने कार्यक्रममा प्रशासनिक एवं सुरक्षा निकायका अधिकारीसमेत सहभागी रहेका छन् । एड्भेन्चरमा नेपाल प्रहरीका एआइजी श्याम ज्ञवाली, आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत योगेशभक्त बादेसँगै चिकित्सक, विभिन्न दूतावासका प्रतिनिधि, कूटनीतिक नियोगका प्रतिनिधिलगायत फरक–फरक क्षेत्रका व्यक्तित्वहरू सहभागिता रहेका छन् ।

    त्यस्तै कार्यक्रममा लोकगायक प्रेमराजा महत, कलाकार गरिमा शर्मा, लेखक बुद्धि सागर, डा। रञ्जित बराल, कमेडियन कैलाश कार्की, ट्राभलर सिर्जना सिज्जु, कलाकार स्वानिका बास्तोला, क्याप्टेन विजय लामा, निखिल उप्रेती, गायक यश कुमार, कमेडियन सन्दीप क्षेत्रीलगायतका कलाकार सहभागी छन् ।

    प्रचुर पर्यटकीय सम्भावना रहेकाे उक्त स्थानको प्रचारप्रसारका लागि यो कार्यक्रम आयोजना गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend