चितवन । चितवनको भरतपुर विमानस्थलको विस्तारको प्रक्रिया अगाडि बढाउन सोमबारदेखि सर्भेको काम सुरु हुने भएको छ ।
शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बसेको बैठकले विमानस्थलको विस्तारको प्रकृया तत्काल बढाउने सहमति भएको हो ।
सर्भे एक हप्ताभित्रै सक्ने गरी काम गरिने महानगरपालिकाले जनाएको छ । समग्र विमानस्थल विस्तार सहजीकरणको लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना र महानगरपालिकाको प्रतिनिधि सम्मिलित सहजीकरण समिति गठन गर्ने सहमति गरिएको छ ।
विस्तारका लागि सर्भे गरी डिजाइन गर्नुका साथै डिजाइन अनुरूप ओएलएस (अप्सट्रेकल लिमिटेशन सर्भे) गरिने भरतपुर महानगरपालिकाका वरिष्ठ ईन्जिनियर सन्तोष आर्चायले जानकारी दिए । सर्भेको रिपोर्ट आएपछि डिजाइनअनुसार बजेट सुनिश्चित गरेर विस्तारको काम अघि बढ्ने छ ।
नेपाल नागरिक प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसहित बसेको बैठकले विमानस्थल विस्तारको काम र घोडा प्रजनन् केन्द्रको शक्तिखोरमा स्थान्तरण गर्ने कार्य एक साथ अगाडि बढ्ने बताइएको छ ।
गत माघ १८ गते बसेको मन्त्रिपरिषद् बैंठकले विमानस्थलको रनवे विस्तारका लागि हाल रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्रलाई शक्तिखोरमा सार्ने निर्णय गरेको हो ।