काठमाडौँ । कोटवाडा विमानस्थल सञ्चालन हुने भएको छ । कालिकोट नरहरिनाथ गाउँपालिका-१ स्थित उक्त विमानस्थल निर्माण सुरु भएको ३८ वर्षपछि सञ्चालनमा आउन लागेको हो ।
वि.स. २०४२ सालबाट निर्माण कार्य सुरु भएको सो विमानस्थलको डेढ वर्ष अघि मात्रै कालोपत्रेको काम सकिएको थियो । तर कालोपत्रेको काम सकिए पनि विमानस्थल भने सञ्चालनमा आएको थिएन ।
२०५८ सालमा कोटवाडा विमानस्थलमा ३६ जना कामदारको हत्या गरिएको थियो । तत्कालीन नेपाली सेनाले विमानस्थलमा काम गरिरहेका कामदारलाई माओवादी लडाकु भन्दै गोली हानेर हत्या गरेको थियो ।
२०५८ साल फागुन १५ गते कोटवाडावासीका लागि कालो दिन नै बन्यो । सङ्कटकालमा सेनाले गोली हानी हत्या गरेको विमानस्थलमा सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुगेर सो विमानस्थलको उद्घाटन गर्ने भएका छन् ।
वि.स. २०७३ साल माघमा कर्णाली प्रदेशका तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाहीले कच्ची धावनमार्गमा परीक्षण उडान गराएका थिए । तर त्यसपछि भने सो विमानस्थलमा जहाज पुगेको छैन ।