काठमाडौँ । अध्यागमन विभागले अनलाइनमार्फत रुट परमिट जारी गरेको छ ।
विभागले निषेधित क्षेत्रमा जाने स्वदेशी तथा विदेशी पर्यटकका लागि अनलाइनमार्फत रुट परमिट जारी गरेको हो ।
विभागले ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) को पहलमा निषेधित क्षेत्रमा घुम्न जाने पर्यटकलाई अनुमतिपत्र प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउनका लागि विद्युतीय माध्यमबाट ‘रुट परमिट’ लिनसक्ने व्यवस्था गरेको छ ।
निषेधित क्षेत्रमा जाने पर्यटकलाई यसअघि अध्यागमन विभागले कागजी प्रक्रियाबाट मात्र अनुमतिपत्र प्रदान गर्दै आएकोमा गत हप्तादेखि भने विद्युतीय माध्यममार्फत् रुट परमिट दिने व्यवस्था मिलाएको हो ।
म्याजिकल नेपाल प्रालिमार्फत तीनजना चिनियाँ नागरिकको अनलाइन माध्यममार्फत रुट परमिट जारी गरिएको छ । अनलाइनमार्फत् रुट जारी हुने चिनियाँ नागरिकमा बिङ सी, छिछि पिङ, विनहुवा लुओ छन् । अनलाइनमार्फत् रुट परमिट दिने व्यवस्था भएसँगै अब मुस्ताङको माथिल्लो भाग, डोल्पाको माथिल्लो भाग, गोरखाको मनास्लु क्षेत्रका चुम र नुव्री भ्याली, हुम्ला जिल्लाको सिमकोट, चङ्खेली र नाम्खा साथै ताप्लेजुङको कञ्चनजङ्गा क्षेत्र जाने पर्यटकलाई सहज हुने भएको छ ।
अध्यागमन विभागका निमित्त महानिर्देशक कृष्णबहादुर कटुवालले अनलाइन प्रणालीमार्फत परमिट खुला गरेसँगै लामो समय लगाएर प्राप्त गरिने प्रक्रियाको अन्त्य भएको बताए ।
उनका अनुसार उक्त प्रणालीसँगै पर्यटकले अब सहजैरुपमा आफ्नो कम्पनी तथा व्यक्तिगत खाताबाट ‘क्युआर पेमेन्ट’ गरी सहज तरिकाले परमिट लिन सकिने छ ।