logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:59 AM

  • कृत्रिम तालमार्फत पर्यटन प्रवर्द्धनको योजना

    कृत्रिम तालमार्फत पर्यटन प्रवर्द्धनको योजना


    पर्यटन नेपाल

    बुधबार, १६ फाल्गुन २०८०


    दमौली (तनहुँ) । तनहुँको व्यास नगरपालिका-१० दुम्सीचौरमा नारेश्वर ताल निर्माण गरी पर्यटन प्रवर्द्धनका लागि व्यास नगरपालिका जुटेको छ ।

    प्रदेश सरकारसँगको साझेदारीमा कृत्रिम ताल निर्माण गरी पर्यटन प्रवर्द्धन र रोजगारी सृजना गर्ने लक्ष्य राखिएको हो ।

    पर्यटन, कृषि र रोजगारीलाई जोड्ने उद्देश्यका साथ नारेश्वर ताल निर्माण गर्न लागिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार ताल निर्माणका लागि बाँध बनाउन सुरु गरिएको छ । कृत्रिम ताल सिँचाइ, मस्त्यपालनलगायत पर्यटनमार्फत आयआर्जन गर्ने उद्देश्यका साथ ताल निर्माण थालिएको न्यौपानेको भनाइ छ ।

    ताल निर्माणका लागि चालू आर्थिक वर्षमा गण्डकी प्रदेशको ताल संरक्षण प्राधिकरणमार्फत १० लाख, व्यास नगरपालिकाबाट ५० लाख र गण्डकी प्रदेश सरकारबाट एक करोड ५० लाख विनियोजन भएको छ ।

    नगरपालिकाले कृत्रिम ताल निर्माणका लागि स्थानीयवासीलाई जग्गाबापतको एक करोड ३७ लाख ८६ हजार पाँच सय मुआब्जा वितरण गरिसकेको छ । नारेश्वर खोलाको पानी थुनेर कृत्रिम ताल निर्माणका लागि २४ रोपनी ११ आना जग्गाका लागि स्थानीयवासीलाई मुआब्जा वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

    जग्गा अधिग्रहणबापत सिम र अब्बललाई प्रतिरोपनी पाँच लाख ५० हजारका दरले र दोयमलाई प्रति रोपनी पाँच लाख ७५ हजारका दरले मुआब्जा वितरण गरिएको छ । २८ रोपनी क्षेत्रफलमा बाँध बाँधेर कृत्रिम ताल बनाउने नगरपालिकाको योजना छ । ताल निर्माणका लागि करिब चार करोड बजेट लाग्ने अनुमान छ । ताल निर्माणका लागि एक करोड ८४ लाखको लागतमा ठेक्का सम्झौता गरिएको छ । ताल निर्माणको ठेक्का जिएस निर्माण सेवाले पाएको छ ।

    विसं २०७५ पुस २० गते गण्डकी प्रदेशका तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले ताल निर्माणको सुरुआत गर्नुभएको थियो । तर काम अगाडि बढ्न सकेको थिएन ।

    तीन सय मिटर लम्बाइ रहने तालको चौडाइ २८ देखि ६८ मिटरको रहने वडाध्यक्ष खेमराज पोख्रेलले जानकारी दिए । तालको औसत गहिराइ दुई दशमलव पाँचदेखि तीन मिटरको रहनेछभने कङ्क्रिट ग्राभिटी ड्यामको संरचनामा ताल निर्माण हुनेछ ।

    आठ मिटर बाँधको उचाइ रहने तालमा बाँधको चौडाइ छ दशमलव पचासी (जगमा) देखि एक दशमलव ५० मिटर (टुप्पोमा) रहनेछ । तालको क्षमता २५ हजार देखि ३० हजार घनमिटरको रहनेछ ।

    उक्त क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । ‘ताल निर्माण भएसँगै यहाँका स्थानीयवासीले रोजगारी समेत पाउनेछन्,’ उनले भने, ‘तालसँगै अन्य संरचना पनि निर्माण भएपछि पर्यटक आकर्षित गर्न सकिनेछ ।’

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend