काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले १५०० मिटरभन्दा कम रनवे भएका विमानस्थल निर्माण नगर्ने भएको छ । साना विमानस्थलमा ठूला जहाज चल्न नसक्ने भएपछि अधिकांश बन्द भएको भन्दै प्राधिकरणले यस्तो निर्णय गरेको हो ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अबदेखि साना विमानस्थल निर्माण नगर्ने निर्णय भएको बताएका हुन् ।
अहिले बन्द रहेका अधिकांश विमानस्थल १५०० मिटरभन्दा कम रनवेका छन् । विशेषगरी हिमाली जिल्ला केन्द्रित विमानस्थल १५०० मिटरभन्दा कम रनवेका छन् । १५०० मिटरभन्दा कम रनवे क्षमताका विमानस्थल बनाउन करिब २ अर्ब रुपैयाँ लागत लाग्ने गर्छ ।
विमानस्थल बनाएर खेतीयोग्य जमिन मासिँदै गएकाले जहाज सञ्चालन गर्न सम्भव नदेखिएका अन्य ठाउँ अन्य क्षेत्रलाई दिनसमेत छलफल सुरु भएको उनले बताए ।
यसअघि निर्माण गरिएका विमानस्थल सडक सन्जाल नपुग्दै ट्विनअटर जहाजका लागि बनाइएको थियो । तर, अहिले ट्विनअटर जहाजको संख्या कम रहेको र ठूला जहाज धेरै चल्न लागेका कारण अब बन्ने विमानस्थल त्यहीअनुसार बनाउनुपर्ने प्राधिकरणको ठहर छ । अहिले प्राधिकरणले केही विमानस्थल स्तरउन्नतिको तयारीसमेत गरिरहेको छ ।
मुलुकभर रहेका ५५ विमानस्थलमध्ये ३४ वटा सञ्चालनमा छन् । सञ्चालनमा रहेकामध्ये पनि दुई दर्जन विमानस्थलमा नियमित उडान हुने गरेको छैन । उड्डयन प्राधिकरणका अनुसार हालसम्म ३७ विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको छ ।