logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:28 AM

  • अष्ट्रेलियन पर्वतारोही एली बिना अक्सिजन अन्नपूर्ण-१ हिमाल आरोहण गर्दै

    अष्ट्रेलियन पर्वतारोही एली बिना अक्सिजन अन्नपूर्ण-१ हिमाल आरोहण गर्दै


    पर्यटन नेपाल

    शनिबार, २६ फाल्गुन २०८०


    काठमाडौँ । अष्ट्रेलियाकी महिला पर्वतारोही तथा पूर्व गाईड एली पेपरले यही वसन्त ऋतृमा नेपालको अन्नपूर्ण-१ हिमाल आरोहण गर्ने भएकी छन् ।

    आज (शनिबार) काठमाडौँमा पत्रकार सम्मेलन गर्दै एली पेपरले विश्वको १० औं अग्लो (८,०९१ मिटर) उचाईको अन्नपूर्ण-१ को आरोहण गर्न लागेको बताइन् । उनी आफ्नो सपना पूरा गर्न तयारीका लागि हाल आफ्नो टिमसहित काठमाडौँ आइकी हुन् ।

    उनले २०२६ भित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु अक्सिजनको प्रयोग नगरी आरोहण गर्ने लक्ष्य रहेको बताइन् । अन्नपूर्ण-१ आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्येको एउटा हिमाल हो ।

    अन्नपूर्ण–१ को आरोहण उनले हिमाल आरोहण कम्पनी सेभेन समिट ट्रेक्समार्फत गर्न लागेकी जानकारी दिइन् । बिना अक्सिजन हिमाल आरोहण गर्ने यात्राको सुरुवात भने उनले सन् २००७ मा नेपालको माउन्ट चोयु हिमालबाट गरेकी थिइन् ।

    पेपरले उनको लक्ष्य अन्तर्गत भने हालसम्म विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु मध्ये दुई वटा हिमाल अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरी सकेकी छन् ।

    सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२औँ अग्लो (८,०५२ मिटर) को ब्रोडपिक र विश्वको पाँचौं अग्लो (८,१६३ मिटर) को मनास्लु हिमाल सन् २०२३ को सेप्टेम्बर २८ तारिखमा सफल आरोहण गरी सकेको उनले जानकारी दिइन् । ब्रोडपिक बिना अक्सिजन सफल आरोहण गर्ने उनी पहिलो अष्ट्रेलियाली महिला बनेकी थिइन् ।

    यससँगै ४८ वर्षीया पेपरले चुनौतीहरूको सामना गरिरहेका महिलाहरूलाई आफ्नै चुनौतीहरू पार गर्दै त्यसलाई जित्न, प्रोत्साहित गर्ने लक्ष्य राखेकी बताइन् । उनले भनिन, ‘मेरो आफ्नै आरोहण शैलीका कारण मैले तोकेको समयमा नै आफ्नो लक्ष्य हासिल गर्ने कुरामा म विश्वस्त छु ।

    मैले मेरो सम्पूर्ण जीवन यसका लागि शारीरिक रूपमा मात्र होइन, मानसिक, भावनात्मक, आध्यात्मिक रूपमा तालिम दिएको छु । यही सबै कुराले मलाई यो गर्न प्रेरित गरेको छ ।’

    उनको हिमाल आरोहणमा २३ वर्षको अनुभव रहेको छ । यो वसन्त ऋतृमा नेपालको अन्नपूर्ण-१ सहित तीन वटा हिमालहरु आरोहण गर्ने योजना रहेको उनले बताइन् ।

    विश्वमा हालसम्म छ जनाले मात्र अक्सिजन बिना आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरु आरोहण गरेका छन् । त्यसमध्ये पनि विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरुको मुख्य चुचुरोमा पुगेका भने दुई जना पुरुष मात्र हुन्, उनीहरुलाई त्यसको लागि १६ वर्ष लागेको थियो ।

    विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल अन्तर्गत सगरमाथा, केटु, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयु, धौलागिरी, मनास्लु, नाङ्गा पर्वत, अन्नपूर्ण-१, गाशरब्रम-१, ब्रोडपिक, गाशरब्रम-२, शिशापाङ्मा पर्दछन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend