काठमाडौँ । यति एयरलाइन्सले क्यान्सरका बिरामीहरूलाई हवाई टिकट नि:शुल्क गर्ने भएको छ ।
एयरलाइन्सले उपचारका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्युट)मा जाने क्यान्सरका बिरामीहरूलाई निःशुल्क हवाई टिकट दिने भएको हो । निःशुल्क टिकट लिनका लागि बिरामीले आवश्यक कागजातसहित विराट क्यान्सर इन्स्टिच्युटमा सम्पर्क गर्नुपर्नेछ ।
नेपालभरिका क्यान्सर बिरामीहरूलाई हवाई टिकट निःशुल्क उपलब्ध गराउने यति एयरलाइन्स र विराट क्यान्सर इन्स्टिच्युटबिच फागुन १७ गते सम्झौता-पत्रमा हस्ताक्षर भएको हो ।
अस्पतालका विशेषज्ञ चिकित्सकहरूले कागजातहरूका आधारमा क्यान्सरको बिरामी भएको प्रमाणपत्र/परिचयपत्र उपलब्ध गराउने र उपचारका लागि आउनु पूर्व टिकट बुक गर्न मिल्ने व्यवस्था छ ।
यात्रुले विमानस्थलमा चेक-इन गर्दा यति एयरलाइन्सको काउन्टरमा अस्पतालद्वारा क्यान्सरको बिरामी प्रमाणित गरिएको परिचयपत्र पेस गर्नुपर्ने छ ।
बिरामीहरूले डाक्टरको अपोइन्टमेन्ट लिँदा टिकट बुकिङका लागि अस्पतालको नम्बर ९८५२०४४२६६ मा सिधै सम्पर्क गर्न सक्नेछन् ।
