logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:29 AM

  • कानुनी क्षेत्रमा योगदान पुर्‍याउनेलाई बुद्ध एयरले सम्मान गर्ने

    कानुनी क्षेत्रमा योगदान पुर्‍याउनेलाई बुद्ध एयरले सम्मान गर्ने


    पर्यटन नेपाल

    शनिबार, ३ चैत्र २०८०


    काठमाडौँ । बुद्ध एयरले हरेक दुई वर्षमा नेपालमा कानुन तथा न्यायको क्षेत्रमा सुधार, अन्वेषणलगायत विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई ‘स्व. सुरेन्द्र बहादुर बस्नेत सम्मान पुरस्कार’ प्रदान गर्ने भएको छ ।

    यससम्बन्धी सम्झौतामा बुद्ध एयर प्रा. लि. का तर्फबाट कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेत तथा सर्वोच्च अदालत बार एसोसिएसनको कार्यसमितिको तर्फबाट सचिव अधिवक्ता श्याम कुमार खत्रीले बुधबार हस्ताक्षर गरेका छन् ।

    पुरस्कारका लागि बुद्ध एयरले २५ लाखको अक्षय कोषको स्थापना गरेको छ । यसबाट प्राप्त हुने ब्याज रकमबाट हरेक दुई वर्षमा एकजना व्यक्तिलाई सम्मान गरिनेछ । बुद्ध एयरले पहिलो वर्षका लागि थप पाँच लाख रकम पनि प्रदान गरेको छ ।

    सर्वोच्च अदालत बार एसोसिएसनले ‘क’ वर्गका बैंकहरूमध्ये बढीभन्दा बढी ब्याजदर प्रदान गर्ने बैंकको मुद्दती खातामा रकम जम्मा गर्नेछ । यसबाट प्राप्त हुने ब्याज रकममध्ये तीन लाख रूपैयाँ पुरस्कार राशिमा तथा अन्य रकम साधारण सभाको दिनमा खर्च गरिने छ ।

    स्व। सुरेन्द्र बहादुर बस्नेत बुद्ध एयरका संस्थापक अध्यक्षका साथै सर्वोच्च अदालतका पूर्व न्यायाधीश थिए । निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त तथा नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्ष थिए । बुद्ध एयरसँग १५ वटा एटीआर–७२ तथा ३ वटा एटीआर–४२ जहाजहरु छन् । दैनिक डेढसय भन्दा बढि उडान गरिरहेको छ ।

    बुद्ध पोखराबाट नेपालगञ्ज, भरतपुर तथा भैरहवाको सिधा उडान गरिरहेको छ । त्यस्तै सातामा दुई दिन भारतको वाराणसी पनि उडान गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend