काठमाडौँ । पाँचतारे होटल ‘काठमाडौँ मेरियट’ र चारतारे होटल ‘फेयरफिल्ड मेरियट’ ले कर्मचारीहरूलाई बोनस वितरण गरेका छन् ।
काठमाडौँ मेरियटले सञ्चालनमा आएको पाँच वर्षमै कर्मचारीलाई दुई करोड ८० लाख बोनस वितरण गरेको जनाएको छ । त्यस्तै फेयरफिल्डले सञ्चालनमा आएको सात वर्षपछि पहिलो पटक २० लाख बोनस वितरण गरेको छ ।
काठमाडौँ मेरियटमा तीन सय ३२ जना र फेयरफिल्ड मेरियटमा ८७ जना कर्मचारी आबद्ध छन् ।
होटलका अध्यक्ष शशिकान्त अग्रवालका अनुसार मेरियटले नाफाको १० प्रतिशत रकम बोनसबापत वितरण गरेको हो।
आर्थिक मन्दीले अधिकांश उद्योग-व्यवसाय घाटामा गइरहेका बेला मेरियट भने नाफामा गएको छ । मेरियट एमएस ग्रुपअन्तर्गतको एभरेस्ट हस्पिटालिटी एन्ड होटल लिमिटेडद्वारा सञ्चालित छ । अध्यक्ष अग्रवालले विषम परिस्थितिबीच मेरियटले आफ्ना कर्मचारीलाई बोनस वितरण गर्न सफल भएको बताए ।
अग्रवालले भने, ‘तीन खम्बे सहयोगका कारण संकटबीच नाफा कमाउन सफल भएका हौं । कर्मचारीको लगनशीलता, मेरियटको व्यवस्थापन र लगानीकर्ताको संयुक्त प्रयासले सफलता हात परेको हो ।’ कर्मचारीहरूको मेहनतले दिलाएको सफलता र त्यसबाट प्राप्त आम्दानीको हिस्सा बाँड्न पाउँदा निकै खुसी लागेको उनले बताए ।
मेरियटका कर्मचारीमा अपनत्व भएकै कारण सफल भएको उनले बताए । कोभिड कालमा पनि होटल बन्द नगरी जोखिम मोलेर काम गरेको प्रतिफल अहिले पाएको अध्यक्ष अग्रवालले बताए ।
उनले भने, ‘सर्वोच्च अदालतले गत वर्षबाट कर्मचारीलाई सर्भिस चार्ज दिन कटौती गर्दा पनि होटलले वैकल्पिक उपाय अपनाएर उनीहरूले सेवा शुल्क बापत पाउने रकम उपलब्ध गराउँदै आएको छ । सर्भिस चार्ज कटौती भए पनि होटलको आम्दानीबाटै कर्मचारीले सर्भिस चार्जबापत पाउने रकम दिन सुरू गर्ने पहिलो होटल नै मेरियट हो ।’
कर्मचारीलाई होटलले सर्भिस चार्जको रकम पनि नियमित दिइरहेको उनको भनाइ छ । उनले भने, ‘प्रति व्यक्ति महिनाको ३० देखि ३२ हजार रूपैयाँ सर्भिस चार्जबापत कर्मचारीले नियमित रूपमा पाइरहेका छन् ।’
कोभिडमा होटलको किस्ता तिर्न सहज होस् भनेर सम्पत्ति बेचेर ऋण घटाएको उनले बताए। ऋण घटाएसँगै ब्याज कम तिर्दा नाफा बढेको उनको भनाइ छ । ‘कोभिडका बेलादेखि अहिलेसम्म दुई अर्ब २५ करोड रुपैयाँ ऋण घटाइसकेकाले ब्याज बापत बचेको रकम नै नाफामा परिणत भयो र कर्मचारीलाई बोनस दिन सकियो,’ उनले भने ।
होटलका प्रबन्ध निर्देशक गौरव अग्रवालले काठमाडौं मेरियटसहित चारतारे होटल फेयरफिल्ड मेरियटले समेत पहिलो पटक कर्मचारीलाई बोनस वितरण गरेको बताए ।
‘सञ्चालनमा आएको सात वर्षपछि कर्मचारीलाई नाफा दिन सकेका छौं,’ प्रबन्ध निर्देशक अग्रवालले भने, ‘तीव्र प्रतिस्पर्धाबीच कर्मचारीको अथक परिश्रमबाट होटलले नाफा कमाउन सफल भएको हो। फेयरफिल्डले कर्मचारीलाई २० लाख रूपैयाँ बोनस वितरण गरेको छ ।’