काठमाडौँ । लामो समयदेखि नेपालको पर्यटन प्रवर्द्धन गर्दै आएको अठोट नेपालले ‘सेकेन्ड नेश्नल टुरिजम कन्भेन्सन एन्ड फोटोग्राफी कम्पिटिसन २०२४’ घोषणा गरेको छ ।
आयोजक अठोट नेपालका अध्यक्ष देवेन्द्र बहादुर शाही ठकुरीका अनुसार अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित यो कार्यक्रमको आयोजना गर्न लागिएको हो । चार वटा विभिन्न विधामा हुन लागेको यस प्रतिस्पर्धामा हरेक विधामा उत्कृष्ट हुनेलाई जनही ५० हजार रूपैयाँ पुरस्कार घोषणा गरिएको छ ।
अध्यक्ष ठकुरीका अनुसार यस वर्ष ‘नेपाल सस्टेनेबल टुरिजम डेभ्लप्मेन्ट थिम’ मा आधारित भएर प्रतिस्पर्धा हुन लागेको हो । नेपालको पर्यटन प्रवर्द्धन हुने चार वटा मुख्य विधा प्रकृति (वातावरण), संस्कृति (जात्रा), पिपुल (जनजीवन), वाइल्ड लाइफ (चराचुरुङ्गी) सँग सम्बन्धित तस्बिरहरू पठाउन सकिनेछ । यस प्रतिस्पर्धाबाट छानिएका तस्विरहरुमध्ये छनौटमा परेको कुनै एक उत्कृष्ट फोटोलाई ‘फोटो अफ द इयर’ घोषणा गरिनेछ । तस्बिर २०८१ वैशाख १८ गतेभित्र www.presentingnepal.com को वेबसाइटमा गएर पठाउन सकिने छ । संसारको जुनसुकै कुनाबाट पठाए पनि तस्बिर नेपालको हुनु पर्नेछ ।
पर्यटनको दिगो विकास गर्ने उद्देश्य बोकेको अठोट नेपालले यस कार्यक्रम दुई भागमा विभाजन गरेको छ । पहिलो भागमा पर्यटनका विषयमा प्यानल डिस्कसन हुनेछ भने दोस्रो भागमा फोटोग्राफी प्रतियोगिता हुनेछ । प्यानल डिस्कसनमा पर्यटन र वातावरण क्षेत्रसँग सम्बन्धित विज्ञ व्यक्तित्वसँग पर्यटनका नीति, निर्माणका विषय, पर्यटन प्रवर्द्धन तथा सरोकारका विषयसँगै जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रलाई पारेको प्रभाव र आगामी दिनमा पार्ने समस्याका बारेमा छलफल गरिनेछ । यस्तै फोटोग्राफी प्रतियोगितामा निर्णायकले छनौट गरेका उत्कृष्ट तस्बिरहरूलाई पुरस्कृत गरिने छ । प्रतियोगिताबारे थप जानकारी www.presentingnepal.com मा हेर्न सकिनेछ ।
विश्व महामारी कोभिड १९ को महामारीपछि पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन महत्त्वपूर्ण योगदान दिने र भूमिका खेल्ने पर्यटन व्यवसायी, पर्यटन अभियन्ता, पर्यटन पत्रकार, पर्यटन फोटोग्राफर, पर्यटन क्षेत्रमा संलग्न सरकारी कर्मचारीहरू मध्येबाट छनौट भएकालाई सम्मान गरिने छ । साथै कार्यक्रममा टिपिकल कल्चरल शो पनि गरिनेछ ।
अठोट नेपालले आयोजना गर्न लागेको यस कार्यक्रमलाई नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गरेको छ । गत वर्ष ‘प्रिजेन्टिङ नेपाल फोटोग्राफी कम्पिटिसन तथा एक्जिबिसन २०२४’ को आयोजना गरिएको थियो ।