काठमाडौँ । मनाङ एयरले नयाँ हेलिकप्टर ल्याएको छ ।
एयरबस कम्पनीले सन् २०२३ मा उत्पादन गरेको एच१२५ (बिथ्रिई) हेलिकप्टर बुधबार काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको मनाङ एयरले जनाएको छ ।
४७ करोड लगानीमा ल्याएको यो हेलिकप्टर दुई सातापछि उडाउने कम्पनीको तयारी छ । छिट्टै अर्को हेलिकप्टर पनि थप्ने कम्पनीका एक अधिकारीले बताए ।
गत असोजमा सोलुखुम्बुको लोबुचेमा मनाङको हेलिकोप्टर दुर्घटनामा परेपछि यो कम्पनी जहाजबिहीन भएको थियो ।
तीन महिनाको अन्तरालमा दुई वटा हेलिकप्टर दुर्घटना भएपछि नागरिक उड्डयन प्राधिकरणले मनाङलाई ‘खराब उडान सुरक्षा’ को कारण देखाउँदै इजाजतपत्र (अपरेटर सर्टिफिकेट) निलम्बन गर्ने निर्णय गरेको थियो ।
नयाँ हेलिकप्टर ल्याएसँगै कम्पनीले निलम्बन फुकुवाको प्रक्रिया थालेको उनले बताए ।