काठमाडौँ । आजबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ । एसइई परीक्षा आज (बिहीबार) बिहान ८ बजेबाट सुरु भएको हो ।
यस वर्ष कुल पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष पाँच लाख प्रश्न पत्र छापेको जनाएको छ ।
चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइई परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८ सय छ विद्यालयका २ लाख ५० हजार सात सय ७२ छात्रा, २ लाख ५३ हजार छ सय २७ छात्र सहभागी छन् ।
त्यस्तै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबाट १५ जना विद्यार्थी परीक्षामा सहभागी छन् । बाँके, चितवन, दाङ, गोरखा, इलाम, खोटाङ, सुर्खेतबाट एक/एक, पर्सा र सप्तरीबाट दुई/दुई, रुपन्देहीबाट चार जना ती समुदायका विद्यार्थीले परीक्षा दिँदै छन् ।
आज अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ ।