logo

मंगलबार, ११ कार्तिक २०८३

logo

मंगलबार, ११ कार्तिक २०८३   |   10:07 PM

  • मर्स्याङ्दीमा व्यावसायिक रूपमा जलविहार सुरु

    मर्स्याङ्दीमा व्यावसायिक रूपमा जलविहार सुरु


    पर्यटन नेपाल

    सोमबार, २६ चैत्र २०८०


    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी नदीमा व्यावसायिक रूपमा जलविहार सुरु गरिएको छ ।

    गाउँपालिकाको सक्रियतामा यहाँ व्यावसायिक रूपमा जलविहार सुरु गरिएको हो ।

    यसअघि चैत ५ गते सम्भाव्यता अध्ययनपछि जलविहारका लागि यस ठाउँ उपयुक्त देखिएकाले व्यावसायिक रूपमा जलविहार सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

    गाउँपालिकाले एस्केप्याड नेपालसँगको सहकार्यमा जलविहार सुरु गरेको हो ।

    पर्यटनमार्फत गाउँपालिकाको प्रचारप्रसार र समृद्धिका लागि मर्स्याङ्दीमा रयाफ्टिङ सञ्चालन गरिएको उनको भनाइ छ । चुमानले भने, “मर्स्याङ्दी व्यावसायिक रूपमा र्याफ्टिङ सञ्चालन गर्नका लागि गाइड ल्याएर सम्भाव्यता अध्ययन गर्दा सफल भयो । अब यसलाई व्यावसायिक रूपमा सञ्चालन गरेका छौँ ।”

    एस्केप्याड नेपालका सिनियर प्रशिक्षक सुमन थापाको नेतृत्वमा मर्स्याङ्दीमा र्याफ्टिङको अध्ययन गरिएको थियो । प्रशिक्षक सुमन थापाले मर्स्याङ्दी नदी र्याफ्टिङका लागि उपयुक्त रहेको बताए ।

    आँबुखैरेनी–४ देखि मुग्लिन पुलसम्मको दूरीमा जलविहार मात्रै गर्न एक हजार शुल्क तोकिएको छ ।

    गाउँपालिकाले मर्स्याङ्दी जलविद्युत् आयोजनाको जलाशयमा मोटरबोट सञ्चालनको तयारी गरेको छ । वडा नम्बर १ र २ स्थित तल्लो मर्स्याङ्दी जलविद्युत् आयोजनाको जलाशयमा मोटरबोट तथा पर्यापर्यटन कार्य सञ्चालनमा गाउँपालिका जुटेको हो ।

    गण्डकी प्रदेशको प्रवेशद्वारमा अवस्थित उक्त ठाउँमा पर्यटक भित्र्याउँदै पर्यटन प्रवर्द्धनका लागि यो काम गर्न लागिएको अध्यक्ष चुमानको भनाइ छ । चुमानले भने, “जलाशयमा मोटरबोट सञ्चालन गर्न सकिए यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थल बन्न सक्छ । पृथ्वी राजमार्ग हुँदै यात्रा गर्नेहरूलाई यस ठाउँमा रोक्न सकिन्छ ।”

    मोटरबोट सञ्चालन गरी स्थानीयवासीको जीविकोपार्जनमा सहयोग पुर्‍याउने लक्ष्य राखिएको अध्यक्ष चुमानले बताए । उनले भने, “यहाँ वैशाख २ गतेदेखि मोटरबोट शुभारम्भ हुँदैछ । त्यसका लागि ऊर्जा मन्त्रीलाई आमन्त्रण गरिसकिएको छ ।”

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend