काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक विकासका लागि आन्तरिक स्रोत बढाउन आवश्यक रहेको बताएका छन् ।
महासंघको ५८ औं वार्षिकोत्सवमा अध्यक्ष ढकालले यस्ताे बताएका हुन् । उनले अर्थतन्त्र अझै समस्यामा रहेको विषय स्वीकार्न सरोकारवालालाई आग्रह गरेका गरेका छन् ।
उनले समस्या छ भन्ने स्वीकार्दा मात्रै समाधानको खोजी हुने बताए ।
उनले भने, ‘अहिले आम्दानी र खर्चबीच तालमेल मिलेको छैन। मुलुकको खर्च धान्ने निजी क्षेत्र पखेटा फिँजाएर थप आर्जन गर्न खोजिरहेको छ । तर त्यसका लागि आवश्यक सेवा र सुरक्षा पाउन सकेको छैन । यो क्षेत्रले अहिले सरकारबाट थोरै मात्र भए पनि प्रोत्साहन चाहेको छ ।’
उनले अर्थतन्त्र सुधारको लागि दिगो काम गर्न निजी क्षेत्र तयार रहेको भन्दै वातावरण बनाउनका लागि उनले आग्रह गरे ।
अध्यक्ष ढकालले भने,‘राजनीतिक तहबाट त्यसलाई अपनत्व ग्रहण गरिदिनुपर्यो । कानुनी अड्चन हुन भएन र वातावरणीय रुपमा दिगो हुनुपर्यो। यी सबै आधारभूत विषय पूरा गरेपछिमात्रै एउटा परियोजना वा व्यवसाय बन्छ ।वित्तीय व्यवस्थापन खर्च पुँजीगत खर्च भन्दा झण्डै दोब्बर भएको छ । आन्तरिक स्रोत बढाउन सकिएन भने नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदै जाने क्रममा ऋणको भार थप बढ्ने सम्भावना देखिएको छ ।’
करिब दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदान नगर्दा समस्या झन् बल्झिँदै गएको उनले बताए । निजी क्षेत्रले त रोगको पहिचान गरेरै बारम्बार औषधि सिफारिस गरे पनि अपेक्षित सुधार हुन नसकेको उनले बताए ।
देश श्रीलंकाको स्थितिमा पुग्ने भयले नियन्त्रणमूखी नीतिगत व्यवस्था गरिए । यसबाट मुलुकको आर्थिक वृद्धि ६ प्रतिशतबाट २ प्रतिशतमा झरेको उनले बताए ।
पछिल्लो दुई वर्षमा न्यून आर्थिक वृद्धि हुनुका कारण निजी क्षेत्रले काम गर्न नपाउनु रहेको बताए ।