काठमाडौँ । नयाँ वर्षको अवसरमा यती एयरलाइन्सले २ वर्षभन्दा मुनिका बालबालिकालाई हवाई भाडा निःशुल्क गर्ने घोषणा गरेको छ ।
सामाजिक सञ्जालहरूमार्फत ‘साना यात्रुका लागि निःशुल्क यात्रा’ योजना सार्वजनिक गर्दै शिशुहरूलाई यतीले हवाई भाडा शतप्रतिशत छुट गर्ने घोषणा गरेको हो ।
हरेक बालबालिकाले आफ्नो जीवनको पहिलो उडानको अनुभव यती एयरलाइन्समार्फत नै सुरूवात गरुन् भन्ने सोचसँगै यतीले यो योजना सार्वजनिक गरेको हो ।
हाल एयरलाइन्सहरूले दुई वर्ष उमेर पुगेका बालबालिकाहरूको उडानमा सेवा शुल्क लिँदै आएका छन् । यात्रुहरूलाई सुखद् उडान यात्राको अनुभव दिन बच्चाहरूको हवाइ भाडामा शतप्रतिशत छुट गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
उनका अनुसार हाललाई यो योजना नेपाली र विदेशी सबैका लागि वैशाख १ गतेदेखि सीमित समयको लागि लागू गरिएको छ । यो सुविधा लिनका लागि यात्रा गर्दा अभिभावकहरूले यती एयरलाइन्सको चेक(इन काउन्टरमा आफ्नो बच्चाको जन्मदर्ता अनिवार्य रूपमा देखाउनुपर्नेछ ।
यतीले बालबालिका, वृद्ध र फरक क्षमता भएका यात्रुहरूका लागि विशेष काउन्टरमार्फत सेवा दिँदै आइरहेको छ ।