logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:27 AM

  • सगरमाथाको अंग्रेजी नाम पनि सगरमाथा नै राख्न सुझाव

    सगरमाथाको अंग्रेजी नाम पनि सगरमाथा नै राख्न सुझाव


    पर्यटन नेपाल

    सोमबार, ३ बैशाख २०८१


    काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम अंग्रेजीमा पनि सगरमाथा नै राख्न सरोकारवाला विज्ञहरूले सुझाव दिएका छन् ।

    सगरमाथालाई अंग्रेजीमा ‘माउन्ट एभरेस्ट’ उल्लेख गर्ने गरिएकोप्रति विज्ञहरूले सो सुझाव दिएका हुन् ।

    इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानद्वारा आइतबार आयोजित सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले नेपालका अन्य हिमालको नाम नेपालीमा मात्र भएजस्तै सगरमाथाको नाम पनि एउटै हुनुपर्ने तर्क गरे ।

    कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं इतिहासविद प्रा।डा। त्रिरत्न मानन्धरले इतिहास शिरोमणि आचार्यले सगरमाथाको नामको ऐतिहासिक तथ्यबारे जानकारी गराएका थिए । इतिहास शिरोमणि आचार्यले सर्वप्रथम वि।सं १९९५ मा लेखमार्फत सर्वोच्च शिखरको नाम सगरमाथा भएको उल्लेख गरेका थिए ।

    मानन्धरले भने, ‘सगरमाथाको नाम अंग्रेजीमा पनि सगरमाथा नै उल्लेख गर्दा सुरूमा केही अफ्ठ्यारो हुने अवस्था आएमा सगरमाथासँगै कोष्ठभित्र ‘माउन्ट एभरेस्ट’ राख्न सकिन्छ। तर मौलिक नाम सगरमाथा भने छुटाउनु हुँदैन। यस सम्बन्धमा निकट भविष्यमै नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएर सुझाव दिनेछौं ।’

    कार्यक्रममा प्रा सुरेन्द्र केसीले राष्ट्रियताअनुसार शाब्दिक फेरबदल हुने गरेको बताए । साथै उनले यस्तो फेरबदल गर्दा शुद्धता र सही सूचना पनि आवश्यक पर्ने बारेमा जानकारी गराए ।

    यसैगरी, प्रतिष्ठानका महासचिव बाबुराम आचार्य, कोषाध्यक्ष कञ्चन शर्मालगायतले इतिहास शिरोमणि आचार्यले नेपालको इतिहास र सगरमाथाको मौलिक पहिचानमा गरेको योगदानबारे चर्चा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend