काठमाडौँ । बर्दिबासमा पाँच तारे होटल बन्ने भएको छ । एक अर्ब १० करोड लगानीमा होटल ‘रामिणी’ बन्ने भएको हो ।
बर्दिबासको पर्यटन विकासमा टेवा पुर्याउने उद्देश्यसहित यो पाँच तारे होटल निर्माण गर्न लागिएको हो । बर्दिबास नगरपालिका वडा नं १ मा होटल ‘रामिणी’को बिहीबारदेखि निर्माण काम सुरू भएको हो ।
होटलको निर्माण काम सुरू भइसकेको अध्यक्ष शुम्भु घिमिरेले बताए । ‘होटल निर्माणको आज साइत गरिएको छ। अबको दुईदेखि साढे दुई वर्षमा होटल निर्माण काम सक्नेछ,’ अध्यक्ष घिमिरेले भने, ‘होटल निर्माणपछि व्यवस्थापन र सञ्चालनका लागि भारतको इन्टरनेशनल चेन होटल ल्याउने तयारी भइरहेको छ ।’
उनका अनुसार भगवान रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरलाई पर्यटनमार्फत जोड्ने उद्देश्यले होटल निर्माण सुरू गरिएको हो । होटल निर्माणपछि बर्दिबासको मात्रै नभई जनकपुर र अयोध्याको पर्यटन क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको उनले बताए ।
‘रामिणी पनि सीता माताको अर्को नाम हो । हिन्दू धर्मालम्बीहरूको आस्थाको केन्द्र अयोध्या र जनकपुर जोड्ने गरी हामीले योजना बनाएका छौं। होटल निर्माणपछि सोही अनुसार बजारीकरण र प्रबर्द्धन गर्नेछौं,’ उनले भने ।
रामिणी होटल कुल एक बिघा क्षेत्रफलमा निर्माण हुनेछ। निर्माण लागतमा बैंकको ६० प्रतिशत ऋण लगानी रहनेछ । अध्यक्ष घिमिरेका अनुसार सातरसाता तलाका दुई वटा भवन बन्ने छन् भने होटलमा ८२ वटा कोठा हुनेछन्। डिलक्स र स्वीटका साथै दुई वटा प्रेसिडेन्सियल स्वीट रूम (कोठा) हुनेछन् । यो पाँच तारे होटलमा क्यासिनो, स्वीमिङ पुल, वेलनेसलगायतका सुविधा उपलब्ध हुनेछन् ।
होटलकी प्रबन्धक श्रेया पाँडेले बर्दिबासमा सुविधा सम्पन्न होटलको सुविधा उपलब्ध गराउने उद्देश्यले होटल निर्माण सुरू गरेको बताइन् । उनले बर्दिबासदेखि भारतका दरबन्दा र सीतामाडीलगायत मुख्य बजारहरूलाई समेत लक्षित गरिएको उल्लेख गरिन् ।
‘हाम्रो योजना बर्दिबासमै लक्जरियस होटलको अनुभव उपलब्ध गराउनु हो । त्यसबाहेक २५ किलोमिटरको दूरीमाा रहेको जनकपुर र छिमकी मुलुक भारतीय बजारलाई पनि लक्षित गरेका छौं,’ उनले भनिन् ।
पाँडेका अनुसार होटलमा एक सय १० भन्दा बढीले रोजगार पाउँनेछन् । जसमा अधिकांश स्थानीयलाई प्राथमिकता दिइनेछ । हाल नेपालमा २२ वटा पाँच तारे र ३४ वटा चार तारे होटल सञ्चालनमा छन् । होटल संघका अनुसार नेपालमा वार्षिक ३५ लाख पर्यटक धान्ने होटल पूर्वाधार छन् ।
कोरोना महामारीपछि सुस्ताएको पर्यटन क्षेत्रमा पछिल्लो समय विदेशी पर्यटक आगमन बढ्दै छ । पर्यटन क्षेत्रमा गतिविधि बढ्न थालेसँगै यस क्षेत्रमा लगानी पनि बढिरहेको छ ।