logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:04 AM

  • खप्तडमा वन्यजन्तु सप्ताहको अवसरमा पदमार्ग सरसफाइ अभियान

    खप्तडमा वन्यजन्तु सप्ताहको अवसरमा पदमार्ग सरसफाइ अभियान


    पर्यटन नेपाल

    शनिबार, ८ बैशाख २०८१


    गणेश मौनी

    डोटी । खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र भित्रका विभिन्न पदमार्गहरूको वन्यजन्तु सप्ताहको अवसरमा सरसफाइ गरिएको छ ।

    वैशाख १ गते देखि सञ्चालन भएको २९ औँ वन्यजन्तु सप्ताह पदमार्ग सरसफाइ अभियानको आज एक कार्यक्रमका बिच समापन गरिएको खप्तड राष्ट्रिय निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए ।

    वन्यजन्तुको संरक्षणः पर्यापर्यटन र आयआर्जन भन्ने मूल नाराका साथ सञ्चालन भएको अभियान अन्तरगत खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र भित्रका विभिन्न पदमार्गहरूको सफार्ई गरिएको निमित्त वरिष्ठ संरक्षण अधिकृत पौडेलले बताए ।

    प्लास्टिक जन्य सामाग्रीका कारण वन्यजन्तु संरक्षणमा चुनौती थपिएको बताउँदै निमित्त वरिष्ठ संरक्षण अधिकृत पौडेलले खप्तड राष्ट्रिय निकुञ्जलाई प्लास्टिक मुक्त क्षेत्र बनाउने अभियान थालिएको बताए ।

    उनले भने हाम्रो लक्ष्य भनेको खप्तड राष्ट्रिय निकुञ्जमा हुने चोरी सिकारीमा शून्यता ल्याउने, प्लास्टिक मुक्त क्षेत्र बनाउने, खप्तड राष्ट्रिय निकुञ्जको संरक्षण प्रवर्द्धनमा सरोकारवालको सहभागिता गराउने रहेको बताए ।

    खप्तड राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकहरूले प्लास्टिक प्रयोग गरी जथाभाबी नफाल्न, डस्बीन र निश्चित ठाउँमा मात्र फाल्न समेत अनुरोध गरेका छन् ।

    यदि कुनै पनि व्यक्तिले निकुञ्ज भित्र जथाभाबी फोहोर गरेमा कानुन बमोजिम कारबाही हुने समेत निमित्त वरिष्ठ संरक्षण अधिकृत पौडेलले बताए ।

    सरसफाइ अभियान अन्तरगत झिग्राना, बिचपानी खप्तड मार्ग, झिग्राना मालिका मन्दिर, अछाम भास्कुन खप्तड मार्ग, बझाङ लोखडा खप्तड मार्गहरूको सरसफाइ गरिएको कार्यालयले जनाएको छ ।

    सरसफाइ अभियानमा नेपाली सेना, निकुञ्जका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

    नेपालमा वन्यजन्तु तथा जैविक विविधता संरक्षणको महत्त्व र दिगो उपयोग गर्न जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले वि।स।२०५३ सालदेखि प्रत्येक वर्षको वैशाख १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम गर्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र अन्तर्गतका कार्यालयहरूले वन्यजन्तु सप्ताह मनाउँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend