काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार (आज) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही देशको बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।
त्यस्तै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।
गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।