logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:25 AM

  • फरक क्षमताका सागर सगरमाथा आरोहण गर्न पुगे लुक्ला

    फरक क्षमताका सागर सगरमाथा आरोहण गर्न पुगे लुक्ला


    पर्यटन नेपाल

    शुक्रबार, १४ बैशाख २०८१


    काठमाडौं । फरक क्षमताका सागर सुनार (विश्वकर्मा) ले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न आज खुम्बुस्थित लुक्ला पुगेका छन् ।

    ३ फुट ७ ईञ्च मात्र उचाई भएका ३० वर्षीय सागरले सगरमाथाको सफल आरोहण गरेर विश्वमा फरक क्षमताका भएका व्यक्तिहरुले पनि केही गर्न सक्छन् भन्ने सन्देश दिन सगरमाथाको आरोहण गर्न लागेका बताए ।

    उनले बुकिङ ओन प्रालिबाट सगरमाथाको आरोहण गर्न लागेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का महासचिव बिनोद सापकोटा लगायतले सगरमाथाको सफल आरोहणको लागि शुभकामना सहित बिदाई गरेका थिए ।

    सागर सुनारका दिदी उर्मिला सुनारलाई काठमाडौंदेखि लुक्ला सम्मको हेलिकप्टर उडानका लागि हेलि अन कल प्रा.लिले व्यवस्थापन गरेको टानका महासचिव तथा हेलि अन कल प्रा.लिका प्रबन्ध निर्देशक सापकोटाले जानकारी दिए ।

    सागर सुनारले सगरमाथाको आरोहण गर्न जानुअघि लोबुजे पिकको आरोहण गर्ने यस अभियानका लिडर नेता तथा बुकिङ ओन प्रालिका प्रबन्ध निर्देशक नरबिन मगर (राना) ले जानकारी दिए । आज सागर सुनार लुक्ला पुगेका र भोलि त्यहाँबाट फेरीचेमा दुईदेखि तीन दिन आराम गर्ने र लोबुजे पिकको आरोहण गर्न जाने मगरले बताए । नर्विन मगरले सागरलाई सगरमाथा आरोहणमा नेतृत्व गर्न लागेका हुन् ।

    कास्कीको मादी गाउँपालिका वडा न.११ सैमराङस्थित तेसा गाउँमा २०५० सालमा जन्मिएका सागर सुनारले दिदी उर्मिला सुनारको प्रेरणाले सगरमाथा चढ्न आट आएको बताए । ‘मेरो दिदी उर्मिलाले लगायत विभिन्न व्यक्तिहरुले मलाई आर्थिक

    रुपमा सहयोग गरेको । साथै अहिले आर्थिक सहयोगको लागि सागर शिखर संस्था गठन गरेर अभियान समेत चलाइरहेको छु, उनले भने ।’‘हामी होचा र फरक क्षमता भएकालाई समाजले नराम्रो नजरले हेर्छ । हेलाँ गर्छ । हेप्छ ।

    म सगरमाथा चढेर त्यहाँबाट विश्वलाई त्यो दृष्टिकोण परिवर्तन गर्न सन्देश दिन चाहन्छु,’ सागरले भने । सागरले यसअघि दोलखाको रामदुङ पिक (५,९२५मिटर) को आफ्नै व्यक्तिगत खर्च र परिवारको सहयोगमा सफल आरोहण गरिसकेका छन् ।

    सागरको होचो र फरक क्षमता भएकाहरुको एउटा संस्था खोल्ने योजना छ । सगरमाथासहित ७ वटै महादेशका चुचुरोहरु आरोहण गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।बिरामी भएको कारणले उनले गाउँमा कक्षा ५ सम्म मात्र अध्ययन गर्न सके । सागर २१ वर्षको उमेरमा काठमाडौं आएका थिए ।

    त्यसपछि उनी सुन पसलमा काम गर्न थाले । बीचमा न्यूरोसम्बन्धी बिरामी भएपछि सागरले त्यो काम पनि छाड्नु पर्यो । टाउकोको नसा च्याप्पिएकोले निहुरिएर काम गर्न नसक्ने भएपछि सागर घरमै बस्न थाले । अपरेशन भएपछि अहिले उनको अवस्था अलि ठिक भएको छ । अध्ययनको लागि पनि उनले दिदीको प्रोत्साहनले गर्दा उनले २०८० सालमा एसइइको परीक्षा पनि दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend