logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • बन्द भएको ६ वर्षपछि भोजपुर-विराटनगर उडान सुरू

    बन्द भएको ६ वर्षपछि भोजपुर-विराटनगर उडान सुरू


    पर्यटन नेपाल

    आइतबार, २३ बैशाख २०८१


    काठमाडौँ । उडान बन्द भएको ६ वर्षपछि भोजपुर-विराटनगर पुनः हवाई उडान सुरु भएपछि यात्रुमा उत्साह देखिएको छ । नेपाल वायुसेवा निगमको जहाजले पुनः आजदेखि भोजपुर-विराटनगर उडान थालेको हो ।

    बन्द भएको छ वर्षपछि विराटनगर यात्रा गर्न पाएकामा यात्रुहरुले खुसी महसुस गरेका छन् । भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाशकुमार आलेले खादा र केक बाँड्दै यात्रुलाई शुभकामना दिए ।

    उनका अनुसार काठमाडौँबाट आएको निगमको जहाजले ९ जना यात्रु लिएर विराटनगर उडेको छ । उडान बन्द भएको लामो समयपछि विराटनगर उड्न पाएकामा यात्रु उषा थापाले खुसी लागेको बताइन् ।

    ‘समस्यामा परेका यात्रुलाई विराटनगर जान अब सहज भएको छ, हामी जिल्लावासी त्यसैमा खुसी छौँ, निगमले नियमित उडान गर्न जरुरी छ,’ उनले भने ।

    वायुसेवा निगमले हप्तामा शनिबार र बिहीबारका लागि विराटनगर उडान तालिका राखेको निगमका भोजपुर स्टेसन प्रमुख प्रकाश खड्काले बताए ।

    ‘अब उडान तालिकाअनुसार नै विराटनगर उडान हुनेछ । अहिलेका लागि काठमाडौँबाट भोजपुर आएर विराटनगर जाने र विराटनगरबाट फर्किएर फेरि काठमाडौँ जाने तालिका बनाएका छौं,’ उनले भने ।

    विमान अभावलगायतका समस्या देखाउँदै निगमले भोजपुर-काठमाडौँ उडान तालिका कायम राख्दै विराटनगर उडान बन्द गरेको थियो ।

    विसं २०७४ पछि विराटनगर उडान हुन सकेको थिएन । जिल्लावासीको मागलाई सम्बोधन गर्दै निगमले तत्कालका लागि हप्तामा दुई उडान गर्न लागेको स्टेसन प्रमुख खड्काको भनाइ छ ।

    हवाई उडान बन्द हुँदा जिल्ला अस्पतालबाट सुविधा सम्पन्न अस्पतालमा सिफारिस गरिएका बिरामी लैजान तथा ज्येष्ठ नागरिकलाई समस्या हुँदै आइरहेको थियो ।

    ज्येष्ठ नागरिक र बिरामीलाई समस्या भइरहेको अवस्थामा बन्द रहेको उडान फेरि सञ्चालन हुँदा आवागमन सहज हुँदै जाने नगरप्रमुख आलेले बताए ।

    ‘अब तोकिएको दिन सेवा सञ्चालन हुनेगरी निगमले उडान गर्नुपर्छ, जसले समस्यामा परेका नागरिकलाई सेवा पुगोस्,’उनले भने । वायुसेवा निगम भोजपुरले भोजपुर–विराटनगर भाडा चार हजार २९ कायम भएको जनाएको छ ।

    नागरिकको सेवालाई ध्यान दिँदै इ-सेवामार्फत पनि टिकट लिने व्यवस्था मिलाइएको छ । पाँच सय ४५ मिटर लम्बाइ भएको विमानस्थल कालोपत्र भए पनि विराटनगर उडान भने ठप्प थियो ।

    प्रदेश राजधानी जान र आउन पुनःउडान सुरु भएपछि सहजता थपिएको भोजपुरवासी शङ्करप्रसाद आचार्यको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend