काठमाडौँ । स्थानीय र पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा बदली भएको छ ।
आइतबार काठमाडौँ उपत्यकासहित कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा पानी परेको थियो । मौसमविद्का अनुसार पानी पर्ने क्रम सुरु भएको छ ।
पश्चिमी वायुसँगै भारतको मध्य क्षेत्रबाट न्यून चापीय प्रणाली विकास भई बङ्गालको खाडीबाट नेपालमा जलवायुक्त हावाको प्रवेश भएको र त्यसले केही दिन पानी पार्ने सम्भावना रहेको छ ।
मौसमविद्ले पानी पर्ने क्रम दुई-चार दिन कायम रहने सम्भावना देखिएको जनाएका छन् ।
पश्चिम तराईका भू-भागहरूमा भने पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । तर पूर्वी तराईमा फाट्टफुट्ट वर्षा हुने पूर्वानुमान गरिएको छ ।
लामो समय पानी नपर्दा मुलुक डढेलोले आक्रान्त बनेको छ । आइतबार परेको पानीले पूर्वी भेगमा केही राहत भएको छ ।