logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:26 AM

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सातामा एक अन्तर्राष्ट्रिय उडान

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सातामा एक अन्तर्राष्ट्रिय उडान


    पर्यटन नेपाल

    बिहिबार, २७ बैशाख २०८१


    काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले सातामा एउटा अन्तर्राष्ट्रिय उडान हुने गर्छ ।

    नेपाल वायुसेवा निगमको जहाजले विमानस्थलबाट अहिले सातामा एउटा अन्तर्राष्ट्रिय उडान भर्ने गरेको हो । करिब एक वर्ष नियमित उडान गरेको कुवेतको जजिरा एयरवेजले केही महिना यता उडान बन्द गरेको छ ।

    अब भने विमास्थल पूर्ण रूपमा सञ्चालनका लागि विमानस्थलका प्रमखु प्रतापबाबु तिवारीले केही विषय अगाडि सारेका छन् ।

    यी हुन् तिवारीले अगाडी सारेका १० कामहरु

    • हाल आइएलएस–उपकरणको माध्यमबाट हुने उडान तथा अवतरण–कम भिजिबिलिटीमा अवतरण गर्ने विधि सीमित एयर स्पेसका कारण सञ्चालनमा आउन नसकेको अवस्थामा अहिले पनि आइएफआर प्रविधिमा मात्रै उडान अवतरण भएको छ । यो विधिबाट उडान अवतरण न्यूनतम १८ सय मिटर भिजिबिलिटी चाहिन्छ ।

    जाडो मौसममा अन्तर्राष्ट्रिय उडान होल्ड, डाइभर्ट हुनु परेको कारण उडान नियमित हुन नसकेको अवस्थामा यसको विकल्पको रूपमा प्राधिकरणले भू–उपग्रहमा आधारित आरएनपी एप्रोच विधि सञ्चालनमा ल्याउनु पर्नेछ ।

    यो बनाउँदा थप पनि नलाग्ने र एक हजार मिटर भिजिबिलिटीभन्दा कम आइएलएसको सरहमा अवतरण गर्न सक्ने सम्भावना हुन्छ । यसको कारबाहीको लागि विमानस्थल कार्यालयबाट प्राधिकरण प्रधान कार्यालयमा अनुरोध भइसकेको छ ।

    • गत वर्षको बजेट नीति तथा कार्यक्रममा हवाई टिकटमा मूल्य अभिवृद्धि कर लगाउने निर्णयले हवाई भाडा बढेको गुनासो सहित विभिन्न वायुसेवा कम्पनीहरूले हवाई भाडा घटाउन माग गरी आएका छन् ।

    यस विमानस्थलबाट उडानका लागि यात्रु आकर्षित गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा हवाई भाडा सस्तो हुनु पर्नेछ। त्यसका लागि हाल प्राधिकरणले ल्यान्डिङ, पार्किङ, नेभिगेसन, सुरक्षा चार्ज छुट दिइरहेको छ ।

    यात्रु सेवा दस्तुर र ग्राउन्ड ह्यान्डलिङ दस्तुर घटाउने, इन्धन ढुवानी शुल्क नजोडी मूल्य कायम गर्ने, यहाँबाट उडान गर्ने अन्तर्राष्ट्रिय उडानका लागि मात्र इन्धनको मूल्य छिमेकी मुलुकको तुलनामा महँगो नपर्ने गरी इन्धन ढुवानी शुल्क निश्चित अवधिको लागि छुट दिनुपर्छ ।

    यसो हुँदा अन्तर्राष्ट्रिय उडानको हवाई भाडा कम हुन गई यात्रु यस विमानस्थल प्रयोगमा आकर्षित हुने माग भइ आएकोले यस सम्बन्धमा आगामी आर्थिक वर्षको बजेट नीति कार्यक्रमले उपयुक्त सम्बोधन हुनु पर्नेछ ।

    • हाल नेपाल वायुसेवा निगमले हप्तामा एक उडान क्वालालम्पुरबाट गौतमबुद्ध विमानस्थल गरिरहेको छ। जसमा सोचे अनुरूप यात्रु आएका छैनन् ।

    विगतमा जजिरा एयरवेजले खाडी मुलुकबाट सीधा उडान गरे पनि विविध कारण देखाउँदै उडान बन्द गरेको छ ।

    नेपालका अन्तर्राष्ट्रिय वायु सेवा प्रदायक नेपाल वायुसेवा निगम र हिमालयन एयरलाइन्सबाट चीन, भारत र बुद्धिष्ट मुलुकका विमानस्थलमा समेत क्रमशस् नेटवर्क विस्तार गराउँदा विमानस्थल र उडानका प्रचार(प्रसार हुने र अन्य वायुसेवालाई पनि उडान थाल्ने गर्न आधार तय हुने देखिन्छ ।

    • यस विमानस्थललाई ट्रान्जिट कार्गोको रूपमा विकास गर्न तथा ट्राफिक लोडका लागि नेपाली वायुसेवाले सेवा दिन नसक्ने अवस्थामा अन्य मुलुकका वायुसेवाका लागि फिफ्थ फ्रिडम राइट प्रदान गरी विमानस्थलको उपयोग बढाउने नीति पर्यटन मन्त्रालयलले लिनुपर्नेछ ।
    • यस विमानस्थललाई सबै वाइडबडी वर्गको जहाजको लागि त्रिभुवन विमानस्थलको विकल्पको रूपमा तयार गर्न नेपाल वायुसेवा निगमले वाइडबडीलाई समेत हुने गरी ग्राउन्ड ह्यान्डलिङ उपकरण र जनशक्तिको व्यवस्था गर्ने ।
    • अहिले खाडी मुलुकमा रोजगारको लागि जाने यात्रुले मेडिकल टेस्ट काठमाडौँको तोकिएको टेस्ट सेन्टरबाट मात्र गर्दै आइरहेका छन्। यात्रुको लागि काठमाडौं जानु पर्ने झन्झटका कारण विगतमा हिमालय एयरलाइन्सको उडान समेत प्रभावित हुन पुगेको थियो । भैरहवाको सरकारी अस्पतालबाट टेस्ट गर्न सक्ने व्यवस्थाका लागि स्वास्थ्य तथा परराष्ट्र मन्त्रालयबाट सम्बन्धित मुलुकमा पहल हुन पर्ने ।
    • भैरहवामा म्यानपावर कम्पनी अफिस खोल्ने व्यवस्था श्रम मन्त्रालयले मिलाइदिनु पर्ने ।
    • धनगढीर नेपालगञ्ज भैरहवा, चन्द्रगढीर विराटनगरर जनकपुर(भैरहवा अन्तर प्रदेश उडान सञ्चालन गरी यात्रुका लागि सहज आगमन गराउन आन्तरिक वायुसेवा कम्पनीलाई पर्यटनर नागरिक उड्डयनले छलफल गर्नुपर्ने ।
    • यी व्यवस्था मिलाई खाडी मुलुकका वायुसेवा ले त्रिभुवन विमानस्थलबाट गर्ने कुल उडानको २० प्रतिशत उडान भैरहवाबाट गर्नुपर्ने र थप उडान माग गर्ने वायुसेवालाई त्रिभुवन विमानस्थलमा स्लट नदिने व्यवस्था मिलाउने ।
    • यात्रुहरूको लागि विमानस्थल आवागमन गर्न सहज यातायात व्यवस्था र यात्रुको चाहना अनुकूलको थप सुविधा स्थानीय निकायले व्यवस्था गर्ने ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend