काठमाडौँ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, मधेस, लुम्बिनी, कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ ।
कोशी ,मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङरहावाहुरी सहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा भइरहेको छ । काठमाडौँको सुन्दरीजल, बूढानीलकण्ठ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, बबरमहल आदि स्थानहरूमा बिहानबाट वर्षा भइरहेको मौसमविद्ले जनाएका छन् ।
पछिल्लो एक घन्टाको अवधिमा शिवपुरीको धाप बाँध क्षेत्र रहेको केन्द्रमा १३.२ मिलिमिटर वर्षा भएको छ । बूढानीलकण्ठमा २.६, सुन्दरीजलमा ८.६ मिलिमिटर वर्षा मापन भएको छ ।
अहिले कोशी प्रदेशमा पनि वर्षा भइरहेको छ । इलाको राँके केन्द्रमा पछिल्लो एक घन्टाको अवधिमा १४.८, झापाको अनारमनीमा १५.६, धनकुटामा ११ मिलिमिटर वर्षा भएको छ ।
त्यस्तै रौतहटको गरुडामा ७.४, बाराको चन्द्रपुरमा ६.८, बाराकै निजगढमा ९.२ मिलिमिटर वर्षा भएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।
देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।