काठमाडौँ । आगामी वर्षमा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको छ ।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले २०८१/८२ को बजेट प्रस्तुत गर्दै यो आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने गरी पर्यटन प्रवर्द्धन कार्यक्रम अघि सारिएको बताएका हुन् ।
पर्यटकलाई एकद्वार प्रणालीबाट सेवा प्रदान गरिने पनि उनले बताए । छिमेकी मुलुक चीन र भारत लगायत मुलुकमा पर्यटन प्रवर्द्धन लक्षित कार्यक्रम गरिने पनि पुनले बताए । उनले नयाँ गन्तव्यको पहिचान गर्ने पनि बताएका छन् ।
त्यस्तै सरकारले आगामी दश वर्षमा प्रति पर्यटक खर्च एक सय २५ अमेरिकी डलर पुर्याउने लक्ष्य लिएको छ ।
पर्यटन प्रवर्द्धनको लागि सन् २०२३ देखि २०३२ लाई पर्यटन दशकको रूपमा मनाइ प्रति पर्यटक खर्च एक सय २५ अमेरिकी डलर पुर्याउने लक्ष्य लिइएको हो ।
सन् २०२३ मा प्रति पर्यटक प्रति दिन औसत खर्च ४१ अमेरिकी डलर रहेको छ ।