काठमाडौँ । ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको पहिचान र गौरव’ भन्ने मूल नाराका साथ ७१ औँ अन्तरराष्ट्रिय सगरमाथा दिवस मनाइएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथा सर्वप्रथम नेपाली नागरिक नेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका नागरिक सर एडमण्ड हिलारीले सन १९५३ मे २९ मा सफलतापूर्व आरोहण गरेको दिनलाई नेपालले हरेक वर्ष अन्तरराष्ट्रिय सगरमाथा दिवसको रुपमा मनाउँदै आएको छ ।
दिवसको अवसरमा काठमाडौैँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाल आरोहीहरूको सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने बताएका छन् । उनले ओरोहीहरूको भविष्यको सुरक्षा र जीविकासँग सम्बन्धित विषयमा अर्थ मन्त्रालयसँग कुरा गरेर तत्कालै अघि बढाइने प्रतिवद्दता जाहेर समेत गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्दै हिमालमा फोहोरमैलाको व्यवस्थापन लगायतका चुनौतीलाई सरोकारवालाहरुको सहकार्य र समन्वयबाट समाधान गर्ने बताए ।
नेपाल सरकारले हिमाल जोगाऔँ, मानवता बचाऔँ भन्ने नाराका साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा संवाद गर्ने नीति अघि सारेको उल्लेख गर्दै उनले यसका लागि हिमालका मुद्दामा विश्वको ध्यान नेपालतर्फ राम्रोसँग आकर्षित भएको र पर्वतीय देशको नेताको रूपमा नेपाल स्थापित भइसकेको बताए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटन भित्र्याउने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै सरकारले पर्यटनलाई आर्थिक विकासको मूल आधारमा रुपमा अघि बढाउने गरी कार्यक्रम अघि बढाइरहेको बताए ।
पर्यटनमन्त्री तामाङले विश्वभर तापक्रम वृद्धिलगायत हिमाली क्षेत्रमा बढ्दो मानवीय र वातावरणमा नकारात्मक प्रभावको सन्तुलन कायम गर्न मन्त्रालयले सगरमाथा आधार शिविरको समग्र अध्ययनका लागि समिति गठन गरेको जानकारी दिँदै समितिले चाँडै नै उपयुक्त निकाससहित सरकारलाई प्रतिवेदन बुझाउने बताए ।
यस्तै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले नेपाल जलवायु परिवर्तनको चपेटामा नेपाल परेको उल्लेख गर्दै हिमाल आरोहणलाई नियमन गर्न र व्यवस्थित मापदण्ड बनाउन जरुरी रहेको बताए ।
उनले ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था हटाइ ८ हजार मिटर माथिको हिमाल आरोहण गरेपछि मात्र सगरमाथा आरोहण गर्न पाउने मापदण्ड बनाउनुपर्ने धारणा राखे ।
मन्त्रालयका सचिव डा। गणेश प्रसाद पाण्डले हिमाल नेपालको गौरव भएको उल्लेख गर्दै नेपालको पहिचान जोगाउन हिमालको संरक्षण आवश्यक भएको बताए ।
कार्यक्रममा नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद पाण्डे, आरोही टेन्डि शेर्पाले नेपालको पर्वतीय पर्यटनको संरक्षणकाहरुको लागि हिमाल र आराहीहरुको संरक्षणमा ध्यान दिन सरकारसंग आग्रह गरे ।
आरोही तथा आरोहणमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान यसैबीच अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा विभिन्न आरोही तथा आरोहणमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको छ ।
सो अवसरमा एक लाख राशीको अन्तर्राष्ट्रिय सगरमाथा पुरस्कारबाट ल्हाक्पा सोनाम शेर्पा सम्मानित भएका छन् । व्यवसायी शेर्पाले यसै वर्ष विश्वका सात वटै महादेशका सर्वोच्च शिखरहरूको सफलतापूर्वक आरोहण सम्पन्न गरेका थिए ।
त्यसैगरी इतिहास शिरोमणि बाबुराम आचार्य सगरमाथा पुरस्कार आरोही तथा सगरमाथाको उचाई मापक खिमलाल गौतमलाई प्रदान गरिएको छ । पन्ध्रौँ चुली पुस्तकका लेखक, नापी विभागका प्रमुख नापी अधिकृत गौतमले सगरमाथाको उचाई ८८४८.८६ मिटर सर्वेक्षण कार्यमा नेतृत्व गरेका थिए ।
त्यसैगरी, सगरमाथाको ३० पटक आरोहण गरेका कीर्तिमानी आरोही कामीरिता शेर्पालाई सम्मान गरिएको छ भने तेन्जिङ हिलारी पुरस्कारबाट पेमा छिरिङ्ग शेर्पा, महासेनानी सुनिल सिंह राठौर, फुरदिकी शेर्पा र निमा डोमा शेर्पा, आङ छिरी शेर्पा पुरस्कृत भएका छन् । सो अवसरमा इतिहास शिरोमणि स्व. बाबुराम आचार्यलाई मरणोप्रान्त सम्मान गरिएको छ ।
प्रज्ञा भवनमा आयोजित कार्यक्रम पूर्व ठमेलबाट बाजागाजासहितको र्याली निकालिएको थियो । भने पर्यटन बोर्डमा रहेको तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीको शालिकमा माल्यापर्ण गरिएको थियो । सो अवसरमा पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा. गणेश प्रसाद पाण्डे तथा बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीको शालिकमा माल्यापर्ण गरेका थिए ।