काठमाडौँ । लमजुङमा पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । गए रातिको पहिरोले तीन वटा घरसमेत बगाएको छ ।
मृत्यु हुनेमा बेसीशहर नगरपालिका-११ चितिका १६ वर्षीय विकल सुनार र क्व्होलासोथार गाउँपालिका-३ बगुमका रुद्रमान गुरुङ रहेका छन् ।
विकल र उनका दाजु मिलन सुनार पहिरोमा परेर घाइते भएपछि उपचारका लागि जिल्ला अस्पताल बेसीशहर लैजाँदै गर्दा विकलको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
त्यस्तै क्व्होलासोथार गाउँपालिका बगुमका रुद्रमानसहित ४ जना पहिरोले पुरिएर बेपत्ता भएका थिए । पहिरो पन्छाएर उनीहरूको खोजी गर्दा ६९ वर्षीय रुद्रमानको शव भेटिएको छ । त्यस्तै पहिरोमा पुरिएका ३६ वर्षीय पञ्चकुमारी गुरुङ, ७ वर्षीय इच्छा गुरुङ र ५ वर्षीय नम्रता गुरुङ भने अझै बेपत्ता छन् ।
अविरल वर्षाका कारण गएको पहिरोले बगुममा रुद्रमान, पञ्चकुमारी र क्व्होलासोथार गाउँपालिकाका योजना शाखा प्रमुखसमेत रहेका चित्र घलेको घर पुरिएको छ ।
मृत अवस्थामा भेटिएका रुद्रमानका श्रीमती लिलाकुमारी र बेपत्ता भएकी पञ्चकुमारीका छोरा ९ वर्षीय निरज छिमेकीको घरमा सुतेकाले जोगिएका छन् ।
पहिरोमा बेपत्ता भएकाहरूको खोजीकार्य जारी छ ।