logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • कन्या बहुमुखी क्याम्पसद्वारा हिमाल आरोही तथा पत्रकार श्रेष्ठलाई सम्मान

    कन्या बहुमुखी क्याम्पसद्वारा हिमाल आरोही तथा पत्रकार श्रेष्ठलाई सम्मान

    आठ हजार मिटर माथिका बाँकी ६ हिमाल आरोहण गर्ने श्रेष्ठको योजना


    पर्यटन नेपाल

    बुधबार, २४ असोज २०८०


    काठमाडौँ । डिल्लीबजार कन्या बहुमुखी क्याम्पस काठमाडौँले हिमाल आरोही तथा फोटो पत्रकार पूर्णिमा पूर्णिमा श्रेष्ठलाई सम्मान गरेको छ ।

    विश्वको सर्वोच्च शिखर सगरमाथा सहित पाकिस्तानको केटु हिमाल र नेपालका ८ हजार मिटर अग्ला सात वटा हिमाल आरोहण गरिसकेकी श्रेष्ठलाई बुधवार क्याम्पसमा आयोजित कार्यक्रमका बिच क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. रुद्र शर्मा, क्याम्पस प्रमुख अपराजिता अर्याल, क्याम्पसको रिसर्च रिसर्च म्यानेजमेन्ट सेलका संयोजक प्रा.डा. जयन्तनाथ खनालले सम्मान गरेका थिए ।

    गोर्खा जिल्लाको आरु घाट गाउँपालिका–९ मा जन्मिएकी श्रेष्ठले हालै २०२३ सेप्टेम्बर २६ (२०८० असोज ९) गते विना अक्सिजन मनास्लु हिमालको दोस्रो पटक पटक सफल आरोहण गरेर फर्किएकी हुन् ।

    उनी विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो फोटो पत्रकार समेत हुन भने अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन् । उनले गत वर्ष वैशाख ३ गते ८ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएकी थिइन् ।

    यस्तै उनले २०२३ जुलाई २७ (२०८० साउन ११ मा) पाकिस्तानमा रहेको ८ हजार ६११ मिटर अग्लो केटू हिमाल आरोहण गरेकी थिइन । केटु सगरमाथा पछिको दोस्रो अग्लो हिमाल हो ।

    २०७९ जेठ २० गते नेपालका ८ हजार मिटर अग्लो ७ वटा हिमाल चढ्ने पहिलो नेपाली महिला आरोहीको कीर्तिमान पनि बनाइ सकेकी श्रेष्ठले सन् २०१७ (सेप्टेम्बर २६) मा पहिलोपल्ट आठ हजार १६३ मिटरको मनास्लु हिमाल, सन् २०१८ मे १९ मा उनले सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) , सन् २०२१ अप्रिल १६ मा अन्नपूर्ण प्रथम (८,०९१ मिटर) र २०१९ नोभेम्बर १० मा आमादब्लम हिमाल (६,८१० मिटर) को सफल आरोहणको गरेकी थिइन् । यस्तै २०२१ को १ अक्टोबरमा धौलागिरि (८,१६७ मिटर) र २०२२ को मे मा कञ्चनजङ्घा (८,५८६ मिटर), सन् २०२२ मे १६ मा ल्होत्से (८,५१६ मिटर) र २०२२ मे २७ मा मकालु (८,४८१ मिटर) को सफल आरोहण गरेकी थिइन् ।

    सम्मान कार्यक्रममा बोल्दै आरोही श्रेष्ठले हिमाल आरोहण चुनौती र रोमाञ्चकतासँगै देश चिनाउने अभियान र नारी शसशक्तिकरणको अभियान भएको बताइन । उनले ८ हजार मिटर माथिका बाँकी ६ वटा हिमाल आरोहण गरी आठ हजार मिटर माथिका १४ वटै हिमाल आरोहण गर्ने लक्ष्य रहेको जानकारी समेत दिइन् । ‘नारीहरूलाई समाजमा हेर्ने दृष्किोण फरक छ । कतिपय अवस्थामा हामी आफैँ पनि यो काम गर्न सक्दैनौ भन्ने पन्छिन खोज्छौँ । यी सबै कुरालाई पछाडि राखेर हिम्मत गर्दा चुनौतीका अगाडि विजय र अवसर भेटिन्छ ।’

    सम्मान पछि उनले भनिन् । नारी शिक्षाको लागि अग्रणी भूमिका खेल्ने डिल्लीबजार कन्या क्याम्पसले आमन्त्रण गरेर सम्मान गरेकोमा धन्यवाद ज्ञापन गर्दै उनले सबै नारीहरूलाई शिक्षा संगसैगै आफूले चाहेको केही फरक काम गरेर अघि बढ्न समेत सुझाव दिइन् ।

    सम्मान कार्यक्रममा बोल्दै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. रुद्र शर्माले श्रेष्ठको साहस र लगनबाट अन्य नारीहरूले प्रेरणा लिन सक्ने उल्लेख गरे । क्याम्पस प्रमुख अपराजिता अर्यालले क्याम्पसले नारी सशक्तीकरणमा नै काम गरिरहेको उल्लेख गर्दै आरोही तथा पत्रकार श्रेष्ठको सम्मान पनि त्यसैको एउटा कडी भएको बताए ।

    क्याम्पसको रिसर्च रिसर्च म्यानेजमेन्ट सेलका संयोजक प्रा.डा. जयन्तनाथ खनालले आरोही श्रेष्ठका अहिलेसम्मका आरोहणका लागि बधाई ज्ञापन गर्दे विश्वका अन्य अग्ला हिमाल आरोहणका लागि शुभकामना व्यक्त गरे ।

    २०३७ सालमा स्थापना भएको यस क्याम्पसमा स्नातक तहमा बीबीएस, बीए,बिबिएम तथा बीएड र स्नातकोत्तर तहमा एमए अंग्रेजी, एमए समाजशास्त्र, तथा एमबीएसको अध्ययन हुने गरेको छ । हाल यो क्याम्पसमा करिब ७ सय विद्यार्थी अध्ययनरत छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend