काठमाडौँ । अब अस्ट्रेलियाको सिड्नीबाट नेपाल एयरलाइन्सले उडान भर्ने भएको छ । नेपाल एयरलाइन्सले सिड्नीदेखि काठमाडौँसम्म सिधा उडान सुरु गर्ने भएको हो ।
नेपाल एयरलाइन्सका चार जना उच्च अधिकारी सिड्नी पुगेर उक्त विषयमा छलफल गरेका छन् ।
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी, मार्केटिङ निर्देशक टेकनिधि दाहाल, अपरेसन निर्देशक दीपुराज जुहार्चन र बोर्ड सदस्य किशोर प्रधान अस्ट्रेलिया पुगेर छलफल गरेका छन् ।
सिड्नीस्थित सिभिल एभिएसन सेफ्टी अथोरिटी (कासा), पूर्वाधार विभाग, विदेश मन्त्रालयका अधिकारी तथा गृहमन्त्रीका प्रतिनिधिसँग छलफल भएको छ ।
अस्ट्रेलियाको उड्डयन प्राधिकरण तथा पूर्वाधार विभागको अनुरोधमा अस्ट्रेलिया पुगेको उक्त टोलीले ‘टेक्निकल एसेसमेन्ट’ को विषयमा भने छलफल टुङ्ग्याउन बाँकी नै छ ।
अस्ट्रेलिया(नेपाल सीधा हवाई उडान गर्ने विषयमा करिब ५ वर्षअघि दुई देशका बिचमा आपसी सहमति भएको थियो ।
सोही विषयमा नेपाल तथा अस्ट्रेलियाका उच्च अधिकारीबिच सिड्नीमा छलफल भएको हो । अब आगामी दसैँबाट सिड्नीमा रहेका नेपालीले आफ्नै जहाजबाट स्वदेश यात्रा गर्न पाउने भएका हुन् ।
उडानका लागि आवश्यक अधिकांश सम्झौताहरू भने भइसकेका छन् । सिड्नीको किङ्सफोर्ड अन्तर्राष्ट्रिय विमानस्थलदेखि साताको २ वटा उडान भर्ने गरी प्रारम्भिक चरणमा ग्राउन्ड स्लट समेत लिइसकिएको छ ।
एयरलाइन्सले सिड्नी, मेलबर्न, ब्रिसबन र पर्थबाट साताको ७ वटा उडान भर्ने छ ।