logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:05 AM

  • उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा

    उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा


    पर्यटन नेपाल

    शुक्रबार, २८ भाद्र २०८१


    काठमाडौँ । भोजपुर नगरपालिका-१२ टक्सारमा रहेको जिल्लाको एकमात्र विमानस्थल कालोपत्र भएको छ ।

    सदरमुकामबाट विमानस्थल पुग्ने सडक पनि कालोपत्र भइसकेको छ । तर पनि यो विमानस्थलमा उडान भने हाल हप्तामा दुई दिनमात्र हुने गरेको छ ।

    विसं २०३५ मा निर्माण सम्पन्न भएर प्रयोगमा आएको विमानस्थलमा कुनै समय हप्तामा सात दिन नै उडान हुने गर्दथ्यो ।

    कुनै बेला यहाँबाट विराटनगरसमेत उडान हुने गरेकामा अहिले भने भोजपुर–काठमाडौँ हप्तामा बुधबार र शनिबारमात्र उडान हुँदै आएको छ । भौतिक पूर्वाधारको कुनै समस्या नहुँदा पनि उडानमा भने समस्या छ ।

    नेपाल वायुसेवा निगम भोजपुरका प्रमुख प्रकाश खड्काका अनुसार केन्द्रबाट पठाउने गरिएको तालिकाअनुसार उडान भर्नुपर्ने हुन्छ, अहिले भोजपुरमा हप्तामा दुईमात्र उडान हुँदै आएको छ ।

    भोजपुर विमानस्थलमा सरकारी ध्वजावाहक वायुसेवा निगमको जहाजले मात्र उडान गर्दै आइरहेको छ ।

    ‘घाँसेमैदान हुँदा भोजपुरमा नियमित उडान थियो, विमानस्थल र सडक कालोपत्र भएपछि त उडान तालिका पनि धेरै हुनुपर्नेमा कम हुँदै गएको छ,’ स्थानीय सञ्जीव कार्कीले भने ।

    टर्मिनल भवन जीर्ण हुँदा समस्या भएको गुनासो आएपछि पूर्वमन्त्री सुदन किरातीको पहलमा बजेट विनियोजन भएर हाल ठेक्का प्रक्रियाबाट आरबी अर्बान विल्डर्स एण्ड सप्लायर्सले विमानस्थलको टर्मिनल भवन निर्माण गरिरहेको छ ।

    पाँच करोड ४५ लाख लागत सम्झौता रहेको उक्त टर्मिनल भवन २०८१ पुससम्ममा निर्माण सम्पन्न गर्नेगरी अहिले काम भइरहेको छ ।

    विमानस्थलका लागि करोडौ रकम खर्च भइसक्दा समेत उडान तालिका बढ्न नसक्नु जिल्लाकै लागि दुर्भाग्य भएको स्थानीय घमचन्द्र दाहालले बताए ।

    भोजपुर सदरमुकामबाट टक्सार विमानस्थलसम्मको सडक कालोपत्र छ ।

    जिल्लामा नै पहिलो आस्फाल्ट (मिश्रित) प्रविधिबाट पूर्वाधार विकास कार्यालयमार्फत प्रदेश सरकारको रु १६ करोड ९२ लाख लागतमा सडक कालोपत्र भएको थियो ।

    रायमाझी–जगदम्बा–मार्सेली जेभीले निर्माण गरेको सो सडकको लम्बाइ पाँच किलोमिटर छ ।

    भोजपुरमा नियमित उडान र निजी कम्पनीले पनि उडान भर्ने वातावरण जिल्लाका राजनीतिक दल र नेताले मिलाउनुपर्ने माग जिल्लावासीको छ ।

    ‘बजेट खर्च भएअनुसार जिल्लावासीले सेवा पनि पाउनुपर्छ, यसका लागि नेताहरू पनि जिम्मेवार बन्नुपर्छ,’ जिल्लावासी कृष्णमाया तामाङले भनिन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend