logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • अपाङ्गता भएका १२ जनासहित ९६ जना इजरायली पर्यटकको स्वागत

    अपाङ्गता भएका १२ जनासहित ९६ जना इजरायली पर्यटकको स्वागत


    पर्यटन नेपाल

    बुधबार, २ असोज २०८१


    काठमाडौँ । अपाङ्कता भएका १२ जना पर्यटक सहित ९६ जना इजरायली पर्यटकलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

    नेपाल स्थित इजरायली राजदुतावासको समन्यवमा नेपाल आएको सो टोलीलाई मंगलवार राती इजरायली राजदूत होनान गोदर र नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले स्वागत गरेका थिए ।

    सालोम राफ्टिङ ट्रेक्स एण्ड एक्सपिडीसन र मास्टर हिमालयले यो यात्राको संयोजन गर्ने र पर्यटकको टोलीले पोखरा, मनाङ्ग र मुस्ताङ्गका विभिन्न क्षेत्रको भ्रमण गर्ने तालिका छ ।

    बुधबार काठमाडौँबाट पोखरा पुगेको उक्त टोली बिहीबार पोखराबाट हेलिकोप्टर मार्फत मनाङ्गको हुम्दे त्यसपछि थोरङलापास हुँदै मुक्तिनाथ र जोमसमेबाट पुनः हेलिकोप्टर मार्फत पोखरा र पोखराबाट काठमाण्डौ फर्किने तालिका रहेको छ ।

    अपाङ्गता भएका पर्यटकहरुको आगमन र उनीहरुले गर्ने साहसिक यात्राले नेपाल साहसिक मात्र नभई अपाङ्गमैत्री पर्यटकीय गन्तव्य पनि हो भन्ने सन्देश प्रभाव गर्ने पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले बताए ।

    ‘हामीले कतिपय स्थानमा अपाङ्गता मैत्री टे«ल निर्माण गरेका छौं । यस्तै अन्य स्थानमा पनि अपाङ्गता मैत्री पूर्वाधार बनोस भन्ने कुरामा जोड दिएका छौं । जसले नेपाल सवलाङ्गका लागिमात्र नभई अपाङ्गताहरुका लागि समेत राम्रो गन्तव्य हो भन्ने सन्देश प्रवाह गर्ने छ ।’ उनले भने ।

    विमानस्थलको विशिष्ट कक्षमा स्वागत गर्दै इजरायली राजदूत होनान गोदरले इजरायली पर्यटकका लागि नेपाल सुरक्षित र अपाङ्गमैत्री गन्तव्य भएको उल्लेख गर्दै नेपालको सुन्दरताको लाभ लिन आग्रह गरे ।

    ‘नेपाल प्रकृतिको अनुपम उपहार हो । यो देश साच्चिकै सुन्दर छ । यहाँको कला संस्कृति र परम्परा र प्रकृति र आतिथ्यले हरेक पर्यटकको मन लोभ्याउँदछ । विगतका वर्षहरुमा नेपाल भ्रमणमा आएका अपाङ्गता भएका पर्यटकहरुको वर्णनका आधारमा यति पर्यटक नेपाल आएका छन् । यो संख्या आउँदा दिनमा पुनः बढ्नेछ,’ उनले भने ।

    नेपाल र इजरायलबीच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहँदै आएको चर्चा गर्दै उनले आउने दिनमा यो सम्बन्ध थप मजवुत हुने विश्वास व्यक्त गरे ।

    यस्तै पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले अपाङ्गता भएका व्यक्तिहरुको नेपाल भ्रमण गर्ने सोँच र योजनाले विश्वरभरका अन्य व्यक्तिलाई समेत प्रोत्साहन मिल्ने बताए ।

    ‘इच्क्षा शक्ति र आत्मविश्वास सबैभन्दा ठूला कुरा हो । जुन इच्क्षा शक्ति र आत्मविश्वासले तपाईं हरुलाई नेपालसम्म आइपुग्न अभिप्ररित गर्‍यो, यसले अपाङ्गता भएका अन्य व्यक्तिहरुमा पनि नेपाल भ्रमण गर्ने उत्साह सञ्चार गर्ने छ,’ उनले भने ।

    इजरायली राजदुतावासको समन्यवमा गत वर्ष पनि अपाङ्गता भएका पर्यटकको एउटा टोलीले नेपाल भ्रमण गरेको थियो । सन् २०२३ मा ६ हजार ४१७ जना इजरायली पर्यटकले नेपाल भ्रमण गरेकोमा सन् २०२४ को अगष्टसम्म ३ हजार २०५ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend